यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग। नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ। किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ। उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ। तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ। किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।” यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो। तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो। अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।
१ पत्रुस 2 पढ्नुहोस्
सुन्नुहोस् १ पत्रुस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू