YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 9

9
प्रेरितको अधिकार
1के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र? 2म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।
3मेरो विरुद्धमा बोल्‍नेहरूलाई मेरो यही जवाफ छ, 4के हामीलाई खाने-पिउने अधिकार छैन? 5के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन र? 6अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन?
7आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्‍यसको दूध पिउँदैन? 8के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन? 9किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ? #व्‍य २५:४; १ तिमो ५:१८ 10के उहाँले हाम्रो खातिर नै यो भन्‍नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍ने र दाइँ गर्नेले अन्‍नको केही हिस्‍सा पाउने आशामा नै जोत्‍छ र दाइँ गर्छ। 11यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?#रोम १५:२७ 12यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन?
तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं। 13के तिमीहरूलाई थाहा छैन, कि मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरका थोकहरूबाट खान्‍छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्‍सा लिन्‍छन्‌?#व्‍य १८:१ 14त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो।#मत्ती १०:१०; लूक १०:७
15तर यी हकहरूमध्‍ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्‍ति यस्‍तै प्रबन्‍ध होस्‌ भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गराउनभन्‍दा बरु म मर्नु असल छ। 16किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ! 17किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ। 18तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्‌।
19किनभने म मानिसहरूबाट स्‍वतन्‍त्र भए तापनि अझ धेरैलाई जित्‍न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्‍याएँ। 20यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्‍ति म यहूदीजस्‍तै बनें। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएकाहरूका निम्‍ति व्‍यवस्‍थाकै अधीनमा रहेजस्‍तै भएँ। 21व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। 22दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें। 23सुसमाचारका आशिष्‌हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।
24के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड। 25खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। 26यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ। 27तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।

अहिले सेलेक्ट गरिएको:

१ कोरिन्थी 9: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्