YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 14:1-12

१ कोरिन्थी 14:1-12 NNRV

प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति। किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ। तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ। अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ। तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो। भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ? बाँसुरी वा वीणाजस्‍ता निर्जीव बाजाबाट स्‍पष्‍ट ध्‍वनि निस्‍केन भने, कसले भन्‍न सक्‍छ के बजिरहेछ? यदि तुरहीले स्‍पष्‍ट ध्‍वनि दिएन भने युद्धको निम्‍ति को तयार हुने? तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ। संसारमा शायद धेरै किसिमका भाषाहरू छन्‌। ती कुनै पनि अर्थहीन छैनन्‌। यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ। यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।