परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ: परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएका परमेश्वरका अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउँछु। किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— किनकि ख्रीष्टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ— ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव हुँदैन। हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ़ राख्नुहुनेछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ। किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्। मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे। के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र? म परमेश्वरलाई धन्यवाद दिन्छु, कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिएको छैनँ। यसकारण मेरो नाउँमा बप्तिस्मा भयौ भनी तिमीहरू कसैले भन्न पाउनेछैनौ। (हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।) किनभने बप्तिस्मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
१ कोरिन्थी 1 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 1:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू