YouVersion लोगो
खोज आइकन

१ इतिहास 17:16-27

१ इतिहास 17:16-27 NNRV

तब दाऊद राजा परमप्रभुको उपस्‍थितिमा गए र तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ? तापनि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त अझ यथेष्‍ट छैन। तपाईंले आफ्‍नो प्रतिज्ञा आफ्‍नो दासको घरानामाथि दूर भविष्‍यसम्‍मलाई बढ़ाउनुभएको छ। “आफ्‍नो दासलाई दिएको मानको विषयमा दाऊदले तपाईंलाई अरू के भन्‍न सक्‍छ र? तपाईंले त आफ्‍नो दासलाई राम्ररी जान्‍नुभएकै छ। हे परमप्रभु, आफ्‍नो दासको खातिर र तपाईंको इच्‍छाअनुसार तपाईंले यी सबै महान्‌ कार्यहरू गर्नुभएको छ, र यी महान्‌ प्रतिज्ञाहरू थाहा दिनुभएको छ। “तपाईंजस्‍तै कोही छैन, हे परमप्रभु, तपाईंबाहेक अरू कोही ईश्‍वर छैन। र तपाईंको प्रजा इस्राएललाई चाहिँ कोसँग तुलना गर्न सकिन्‍छ र? दासत्‍वबाट मुक्त गरेर आफ्‍नो प्रजा बनाउनलाई परमेश्‍वर स्‍वयम्‌ आउनुभएको पृथ्‍वीमा अरू कुनै जाति छ र? तपाईंले महान्‌ र भयानक कार्यहरूद्वारा मिश्रदेशबाट मुक्त गर्नुभएको आफ्‍नो प्रजाको अगि जाति-जातिहरूलाई धपाएर आफ्‍नो निम्‍ति ख्‍याति राख्‍नुभएको छ। तपाईंले आफ्‍नो प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नो बनाउनुभएको छ। तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ। “अब हे परमप्रभु, आफ्‍नो दास र त्‍यसको घरानाको निम्‍ति तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो सब समयको लागि स्‍थिर रहोस्‌। तपाईंले जे भन्‍नुभएको छ, त्‍यो पूरा गर्नुहोस्, ताकि तपाईंको ख्‍याति सदासर्वदाको निम्‍ति महान्‌ हुनलाई त्‍यो स्‍थिर रहोस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान्‌ परमप्रभु इस्राएलमाथिका परमेश्‍वर इस्राएलकै परमेश्‍वर हुनुहुन्‍छ!’ अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थिर हुनेछ। “तपाईं मेरा परमेश्‍वरले आफ्‍नो दासको घर बनाउनलाई आफ्‍नो अभिप्राय मलाई प्रकट गर्नुभएको छ। यसैकारण तपाईंको दासले तपाईंको सामु प्रार्थना चढ़ाउन आँटेको छ। हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ। तपाईंले आफ्‍नो दाससित यी उच्‍च प्रतिज्ञाहरू गर्नुभएको छ। त्‍यो सधैँ तपाईंको सामु रहिरहोस्‌ भनी आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनु तपाईंलाई इच्‍छा भयो। किनकि तपाईंले नै त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदासर्वदै आशिषित हुनेछ।”