YouVersion Logo
Search Icon

2 कोरिन्थी 1

1
1परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल, अनि हाम्रा भाइ तिमोथीबाट,
कोरिन्थमा भएका परमेश्‍वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र सन्तहरूलाई:
2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्।
सबै सान्त्वनाका परमेश्‍वर
3हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता, अनि सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ, 4जसले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौं। 5किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौं, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। 6यदि हामी यातनामा पर्छौं भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्‍तिको निम्ति हो, यदि हामीले सान्त्वना पाउँछौं भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका तिनै कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ। 7अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ, किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौं।
8हे दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले एशियाको#1:8 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही शहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो। प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अन्जान रहो भनी हामी चाहन्‍नौं। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्ने हौं कि होइनौ भनी निश्‍चित थिएनौं। 9निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौं। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौं भनेर नै हो। 10उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, र परमेश्‍वरले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौं। 11तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्।
पावलको योजनामा हेरफेर
12अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता#1:12 केही पा.लि.मा सत्यता र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौं। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौं। 13किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौं। अनि म आशा गर्दछु, कि 14जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, जसमा तिमीहरूले हामीबारे गर्व गर्नेछौ, जसरी हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौं।
15अनि मलाई यस विषयमा निश्‍चय भएकोले मैले पहिला तिमीहरूकहाँ आउने योजना बनाएँ, जसमा तिमीहरूलाई दोहोरो फाइदा होस्। 16म्यासिडोनिया जाँदा तिमीहरूकहाँ जाने, अनि म्यासिडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएँ। 17के यो योजना मैले शङ्कालु मनले बनाएँ? अथवा के म आफ्नो योजना मानवीय ढङ्गले एउटै मुखले “हो-हो” वा “होइन-होइन” भन्दै बनाउँछु र?
18तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुभएकोले, एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको होइन। 19किनकि परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट, जो म, सिलास र तिमोथीद्वारा तिमीहरूमा प्रचारिनुभयो, उहाँमा कहिले “हो” र कहिले “होइन” भन्‍ने हुँदैन, तर उहाँमा सदा “हो” नै थियो। 20किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाको निम्ति उहाँद्वारै हामीबाट “आमेन” भनिएको छ। 21अब परमेश्‍वरले नै हामी अनि तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ, 22र उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप हामीमा लगाउनुभएको छ; अनि अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर, पहिलो किस्ता स्वरूप हाम्रा हृदयमा उहाँको आत्मा दिनुभएको छ।
23तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, अनि जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु। 24हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौं, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौं, किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा रहन्छौ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in