YouVersion Logo
Search Icon

2 कोरिन्थी 2

2
1यसकारण मैले तिमीहरूलाई कष्‍ट पुर्‍याउने किसिमले दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै निश्‍चय गरें। 2किनकि यदि मैले तिमीहरूलाई दुःखी बनाएँ भने, तिमीहरूबाहेक कसले मलाई खुशी बनाउने, तिमीहरू नै होइनौ जसलाई मैले दुःखित बनाएँ? 3अनि जसरी मैले अघिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै दुःखित हुन नपरोस्। तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि तिमीहरू सबै रमाउनुमा नै मेरो आनन्द छ। 4तिमीहरूलाई शोकित तुल्याउनलाई होइन, तर तिमीहरूप्रति मेरो प्रेमको गहिराइ तिमीहरूले बुझ भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदनामा र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
पापीको लागि क्षमा
5म कडिकडाउसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने, त्यसले मलाई दुःखित तुल्याएको छैन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। 6यस्तो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ। 7अनि अब यस्तो व्यक्‍ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ। 8यसकारण तिमीहरूले ऊप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु। 9मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी बन्छौ कि भनेर जान्‍नलाई हो। 10तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यसलाई क्षमा दिनेछु; अनि यदि त्यस्तो केही छ, र मैले क्षमा दिएको छु भने, त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु; 11जसमा शैतानले हामीलाई धोका नदेओस्। किनकि हामी त्यसका युक्‍तिहरूदेखि अन्जान छैनौं।
नयाँ करारका सेवकहरू
12जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस गएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको भेट्टाएँ। 13मैले मेरा भाइ तीतसलाई त्यहाँ नपाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
14तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, अनि हामीद्वारा नै उहाँको ज्ञानको सुवास्‍ना चारैतिर फिँजाउनुहुन्छ। 15किनकि उद्धार पाइरहेकाहरू अनि नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरको निम्ति ख्रीष्‍टको सुवास्‍ना हौं। 16नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन अनि उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र? 17अरू कतिझैं हामी परमेश्‍वरको वचनलाई लाभको निम्ति व्यापार गर्ने होइनौं। यसको विपरीत परमेश्‍वरबाट पठाइएका मानिसहरूझैं हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौं।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in