BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve
पत्रुसको पुस्तकको यस विन्दुमा, व्यापारिक शहर एन्टिओकमा कसरी अझ धेरै गैरयहूदीहरूले येशूलाई पछ्याउन थाल्दैछन, त्यसबारे खबरहरू आइरहेका छन्। त्यसैले, यसबारे बुझ्न यरूशलेमका चेलाहरूले बर्णाबास नामक मानिसलाई पठाउँछन्। उनी एन्टिओक पुग्दा, संसारभरिका विभिन्न ठाउँबाट आएका थुप्रै मानिसले येशूको मार्गबारे जानेका रहेछन् भन्ने कुरा उनले पत्ता लगाउँछन्। धेरै नयाँ विश्वासीहरू हुन्छन् र गर्नुपर्ने काम धेरै हुन्छ। त्यसकारण एन्टिओकमा आएर आफूसँग सिकाउने काममा लाग्न बर्णाबासले शाऊललाई नियुक्त गर्छन्।
येशूका अनुयायीहरूलाई पहिलो पटक ख्रीष्टियन भनिएको स्थान एन्टिओक नै हो। ख्रीष्टियन शब्दको अर्थ हो, “ख्रीष्टका मानिसहरू”। एन्टिओकको मण्डली येशूको पहिलो अन्तरराष्ट्रिय समुदाय हो। अब उप्रान्त मण्डली मुख्यत: यरूशलेमका मसीही यहूदीहरूले मात्र बनेको हुँदैन। अब यो संसारभरि तीब्र गतिमा फैलिरहेको बहुजातीय अभियान बन्छ। तिनीहरूको वर्ण, लवज, भाषा र संस्कृति फरक छन् तर तिनीहरूको विश्वास भने एउटै छ, जुन सबै जातिका राजा अर्थात् क्रूसमा टाँगिएर बौरी उठ्नुभएका येशूको सुसमाचारमा केन्द्रित छ। तर साधारण रोमी नागरिकको लागि मण्डलीको सन्देश र तिनीहरूको नयाँ मार्ग अन्योलपूर्ण र चुनौतीपूर्ण समेत हुन्छ। अनि रोमी साम्राज्यको कठपुतली, राजा हेरोदले ख्रीष्टियनहरूलाई दुर्व्यवहार गर्ने र मृत्युदण्ड दिने कार्य शुरु गर्छ। इसाईहरूलाई जत्ति धेरै सतायो त्यति नै बढी केही यहूदी अगुवाहरू खुसी हुन्छन् भन्ने बुझेपछि हेरोदले यो कार्यलाई झन् तीब्र पार्छन्। यसले गर्दा अन्त्यमा पत्रुस पक्राउ पर्छन्। पत्रुसको ज्यान खतरामा पर्छ तर उनका मित्रहरूले उनको रिहाइको लागि खुरन्धार प्रार्थना गर्छन्। हेरोदले पत्रुसलाई हिंस्रक भीडलाई सुम्पिने योजना बनाएको अघिल्लो रात, एक जना स्वर्गदूत उनी थुनिएको कोठामा आउँछन् र उनका साङ्लाहरू तोडेर उनलाई झ्यालखानाबाट निकाल्छन्।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• आजका लागि छनौट गरिएका परिच्छेदहरू पढ्दा तपाईंको मनमा कस्ता विचार, प्रश्न वा अन्तर्दृष्टिहरू आउँछन्?
• प्रेरित ५:१८-२५ लाई प्रेरित १२:४ सँग तुलना गर्नुहोस्। किन हेरोदले पत्रुसको सुरक्षामा सिपाहीहरूको चार दस्ता खटाएका थिए भन्ने तपाईंलाई लाग्छ? यसले हेरोद र यो अवस्थामाथि उनको बुझाइबारे तपाईंलाई के बताउँछ?
• पत्रुसलाई स्वर्गदूतले ब्यूँझाएको त्यो रात आफू झ्यालखानामा भएको कल्पना गर्नुहोस्। त्यो स्थिति कस्तो हुनेथियो भन्ने तपाईंलाई लाग्छ? अब पत्रुसको रिहाइको लागि प्रार्थना गर्ने मानिसहरू मध्ये आफू एक भएको कल्पना गर्नुहोस्। पत्रुसले ढोका ढकढक्याउन थाल्दा तपाईंले के गर्नुहुन्थ्यो?
• हेरोदले भीडलाई आदर अनि एक मात्र परमेश्वरलाई अनादर गरेको याद गर्नुहोस्। अध्याय शुरु भएको तरिकालाई (१२:१-४) अध्याय अन्त्य भएको तरिकासँग तुलना गर्नुहोस् (१२:२२-२३) र प्रस्तुत व्यङ्ग्यलाई याद गर्नुहोस्। यस अध्यायका पात्रहरूसँग स्वर्गदूतहरूले कसरी र किन अन्तरक्रिया गरे, त्यसलाई पनि याद दिनुहोस् (१२:७-८ र १२:१२-२३) । तपाईं के अवलोकन गर्नुभयो?
• पढाइ र मननलाई प्रार्थनामा परिवर्तन गर्नुहोस्। कृतज्ञता व्यक्त गर्नुहोस् अनि आफ्नो जीवनको लागि परमेश्वरलाई सम्मान र श्रेय दिनुहोस्। सताइएको मण्डली, तिनीहरूको आशा, धैर्यता र छुटकाराको लागि पनि प्रार्थना गर्नुहोस्।
Om denne planen
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More