रोमी 8:18-28
रोमी 8:18-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं। किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ। हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
रोमी 8:18-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन। किनकि सृष्टिले बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ। किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा, कि सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्। हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ। त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ। यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ। यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ। हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
रोमी 8:18-28 पवित्र बाइबल (NERV)
अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्। हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं। आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ। हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
रोमी 8:18-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्मान्सँग तुलना गर्न सकिन्न। परमेश्वरले आफ्ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्टिले ठूलो चाख मानेर पर्खिरहेको छ। किनभने सृष्टि नै काम नलाग्ने भएको थियो तर यसो भएको सृष्टिको आफ्नै इच्छाले थिएन। सृष्टिले आशा गरिरहोस् भनी परमेश्वरले नै यसो गर्नुभएको थियो। सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ। अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ। तर सृष्टि मात्र होइन, पवित्र आत्माले पछि ल्याउने सुख-सम्मान्को स्वाद पाउने हामी पनि परमेश्वरको बाटो हेरेर भित्र-भित्रै कष्टले कनिरहेका छौं किनभने उहाँले हामीलाई आफ्ना छोरा-छोरी बनाएर हाम्रो शरीरलाई नाश हुन नदिई बचाउनुहुन्छ र यसैलाई स्वर्गीय शरीर बनाउनुहुन्छ किनभने ठूलो आशाको लागि परमेश्वरले हामीलाई बचाउनुभयो अनि हामी त्यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्तैन। तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं। पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ। मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ। परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ।