रोमी 7:14-24
रोमी 7:14-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु। म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ। किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु। अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ। हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?
रोमी 7:14-24 नेपाली समकालीन संस्करण (NCV)
हामीलाई थाहा छ कि, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु। म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु। अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ। किनकि म जान्दछु ममा केही असल कुराको वास छैन अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु। अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो, जसले त्यो गर्दछ। यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ। किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु। तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने?
रोमी 7:14-24 पवित्र बाइबल (NERV)
हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ। त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?
रोमी 7:14-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
व्यवस्था परमेश्वरको आत्माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्वभावअनुसार चल्ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्छ तर मैले चाहेको काम मबाट हुँदैन। यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्वभाव हो किनभने असल काम गर्ने इच्छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्तिनँ। मैले इच्छा गरेको असल काम म गर्दिनँ; तर उल्टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्छु। मैले इच्छा नगर्दा-नगर्दै पनि म त्यो काम गर्छु भने त्यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो। यसकारण असल काम गर्न खोज्दाखोज्दै पनि खराब काम मेरो साथ हुन्छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। मेरो आत्माचाहिँ परमेश्वरको नियमले खुसी हुन्छ। तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्छु। यो शक्तिचाहिँ मेरो आफ्नै मनले मान्न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। मेरो हालत यस्तै छ, म आफैं त मन र आत्माले परमेश्वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्वभावले कमारोजस्तै पापकै सेवा गर्दछ, अहो म कस्तो अभागी मानिस, पाप र मृत्युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्वरलाई धन्यवाद होस्। हाम्रा ख्रीष्ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।