YouVersion लोगो
खोज आइकन

रोमी 5:6-10

रोमी 5:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला। तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो। यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:6-10 नेपाली समकालीन संस्करण (NCV)

हामीहरू असहाय छँदै, समयको पूर्णतामा ख्रीष्‍ट अधर्मीहरूका निम्ति मर्नुभयो। धर्मी मानिसको निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसको निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला, तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदा-छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो। ख्रीष्‍टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले परमेश्‍वरको क्रोधबाट उहाँद्वारा निश्‍चय नै बचाइनेछौं! किनकि हामी परमेश्‍वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइयौं भने अब परमेश्‍वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवन मार्फत् अझ बढी बचाइनेछौं।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:6-10 पवित्र बाइबल (NERV)

जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो। हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी आफैंले मुक्तिको निम्‍ति केही गर्न नसक्‍ने हुँदा नै ख्रीष्‍ट आफैं नै हामी पापीको निम्‍ति ठीक बेलामा मर्नुभयो। धर्मात्‍माको निम्‍ति कोही मुश्‍किलले मरिदेला। अति असल मानिसको सट्टामा पनि कसैले मर्ने साहस गर्ला। तैपनि परमेश्‍वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्‍ट मर्नुभयो। उहाँ बलिदान भएर आफ्‍नो रगतद्वारा हामीलाई परमेश्‍वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्‍वरको क्रोधबाट बचाउनुहुन्‍छ। हामी परमेश्‍वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्‍टको मृत्‍युद्वारा परमेश्‍वरले हामीलाई आफ्‍नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्