रोमी 1:19-25
रोमी 1:19-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ। उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
रोमी 1:19-25 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको विषयमा जान्न सकिने कुरा उनीहरूको अघि प्रष्ट छ, किनभने परमेश्वरले नै यो कुरा उनीहरूलाई प्रष्ट पारिदिनुभएको छ। किनकि परमेश्वरका अदृश्य गुणहरू, उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएका छन्; र बनाइएका थोकहरूबाट बुझ्न सकिन्छ। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने कुनै पनि बहाना छैन। तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न ता धन्यवाद नै दिए; बरु तिनीहरूका सोच व्यर्थ हुनगयो, र तिनीहरूका मूर्ख हृदयहरू अँध्यारा भए। तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। अनि अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए। यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो, ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग स्वीकारे, र सृष्टिकर्ताको सट्टामा सृष्टि गरिएका थोकहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदा-सर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
रोमी 1:19-25 पवित्र बाइबल (NERV)
परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ। परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्। मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो। मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे। मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।
रोमी 1:19-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्छ किनभने परमेश्वरको बारेमा मानिसले जान्नुपर्ने कुरा परमेश्वर आफैंले तिनीहरूलाई छर्लङ्ग हुने गरी देखाउनुभएको छ। संसारको सुरुदेखि नै उहाँले बनाउनुभएको कुराबाट मानिसहरूले परमेश्वरलाई जान्न सक्तछन्। परमेश्वरको सधैँ रहने शक्ति र ईश्वरीय स्वभावजस्ता नदेखिने गुणहरू पनि तिनीहरूले राम्ररी बुझ्न सक्छन्। त्यसो हुँदा तिनीहरूलाई कुनै बहाना गर्ने ठाउँ नै छैन। तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्, नता तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारमा काम नलाग्ने भए र तिनीहरूका खोक्रा हृदयचाहिँ अन्धकारले भरियो। आफैंलाई बुद्धिमानी भनी ठानेर तिनीहरू मूर्ख भए। तिनीहरूले परमेश्वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्तुहरूका मूर्तिलाई पूजा गरे। तिनीहरूका हृदयले खोजेको घिनलाग्दो अवस्थामा नै परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्दा कामहरू गरे। तिनीहरूले परमेश्वरको सत्यलाई झूटसँग साटे। सृष्टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।