प्रकाश 5:8-11
प्रकाश 5:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्ने घोप्टो परे। प्रत्येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्तहरूका प्रार्थना हुन्। तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।” तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।
प्रकाश 5:8-11 नेपाली समकालीन संस्करण (NCV)
अनि जब त्यो लिनुभयो, तब ती चारओटा जीवित प्राणीहरू अनि चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, अनि तिनीहरूले धूपले भरिएका सुनका धूपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्। अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ, किनकि तपाईं काटिनुभएको थियो, अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट अनि जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्वरको निम्ति किन्नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई एक राज्य र पूजाहारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि मैले असंख्य स्वर्गदूतहरूका स्वर सुनें; अनि तिनीहरूका संख्या लाखौं र करोडौं थियो।
प्रकाश 5:8-11 पवित्र बाइबल (NERV)
जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडा़को पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्। अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए: “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ, अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ। यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।” तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए।
प्रकाश 5:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्डवत् गरे। प्रत्येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्नाचाहिँ परमेश्वरका भक्तहरूका बिन्ती-प्रार्थनाहरू हुन्। उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो। त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें।