YouVersion लोगो
खोज आइकन

प्रकाश 3:7-22

प्रकाश 3:7-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“फिलाडेल्‍फिया मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “उहाँ जो पवित्र र सत्‍य हुनुहुन्‍छ, जसका हातमा दाऊद राजाको साँचो छ र जसले खोलेको ढोका कसैले बन्‍द गर्न सक्‍दैन अथवा बन्‍द गरेको ढोका कसैले खोल्‍न सक्‍दैन, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्‍यसलाई कसैले बन्‍द गर्न सक्‍दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्‍वीकार गरेका छैनौ। हामी यहूदी हौं भनेर ढाँट्‍ने शैतानका गुठका त्‍यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्‍डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्‍यार गरिराखेको छु भन्‍ने कुरा उनीहरूलाई थाहा हुनेछ। पृथ्‍वीका सबै जातिहरूलाई जाँच्‍न यस संसारमा हुन आउने चर्को कष्‍टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ। हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्‍न नसकोस्। जसले जित्‍छ, मेरा परमेश्‍वरको मन्‍दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्‍यहाँबाट ऊ कहिल्‍यै निस्‍कनेछैन। उसमा मेरा परमेश्‍वरको नाउँ अनि स्‍वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्‍नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्‍नेछु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “लाउडिकियाको मण्‍डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “परमेश्‍वरका सारा सृष्‍टिका मूल, जो विश्‍वासयोग्‍य, सत्‍य साक्षी र आमेन हुनुहुन्‍छ, उहाँले यसो भन्‍नुहुन्‍छ। तिमीहरूको काम म जान्‍दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्‍थ्‍यो। तर तिमीहरू नता तातो न चिसो तर मन तातो भएको हुनाले नै मेरो मुखबाट तिमीहरूलाई थुकी फ्‍याँकिदिनेछु। म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्‍छौ र तिमी कति दु:खी र दयालाग्‍दो कङ्गाल, अन्‍धा र नाङ्गा छौ भन्‍ने तिमीलाई थाहा छैन। तर म तिमीलाई यस्‍तो सल्‍लाह दिन्‍छु, सधैँ धनी हुनलाई मबाट शुद्ध सुन किन। तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई सेतो लुगा किनेर लगाऊ, आँखा देख्‍नलाई मबाट मलम किनेर लगाओ। जसलाई म प्‍यार गर्दछु, उसलाई म हप्‍काउँछु र सजाय दिन्‍छु। यसैकारण पाप छोडी मतर्फ फर्क र उत्‍साहित बन। हेर! म ढोकामा उभिएर ढकढक्‍याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ। जसले जित्‍छ, उसलाई मसित मेरो सिंहासनमा बस्‍ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्‍न पाएको छु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन!

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:7-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन। मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ। हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु। तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन। जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ। मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। “म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ। यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु। जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर। हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ। जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:7-22 नेपाली समकालीन संस्करण (NCV)

“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दाविदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन। मलाई तिम्रो कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्‍ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ। म ती शैतानका सभाकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौं भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। तिमीले धैर्यसाथ सहेर मेरा आज्ञा पालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ। हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाउँ, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ शहर यरूशलेमको नाउँ लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाउँ पनि लेखिदिनेछु। जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। “लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख: यी वचनहरू आमेनका हुन्, जो विश्‍वासयोग्य अनि सत्य साक्षी, अनि परमेश्‍वरको सृष्‍टिका शासक हुनुहुन्छ। मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न ता ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो। यसकारण तिमी न ताता न ता चिसो; मनताता भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु। तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धन कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ। म तिमीलाई सल्‍लाह दिन्छु, कि मबाट आगोमा खारेको सुन किन; र धनी बन, अनि आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लाउने गाजल किन, ताकि तिमीले देख्न सक। जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, अनि अनुशासन गर्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर। म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने, म त्यसकहाँ भित्र आउनेछु अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ। जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितें अनि मेरो पिताको सिंहासनमा बसेको छु। जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:7-22 पवित्र बाइबल (NERV)

“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख: “उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन। “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ। “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ। “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “आमिन एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ। “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ। “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”

शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्