प्रकाश 13:11-18
प्रकाश 13:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो। त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो। मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो। पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो। त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्। अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो। बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 13:11-18 नेपाली समकालीन संस्करण (NCV)
तब मैले पृथ्वीबाट माथि निस्कँदै गरेको अर्को पशु देखें। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले झैं बोल्थ्यो। त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो, अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो। अनि त्यसले अचम्मका चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्यो। त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउन हुकुम दियो। त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्। त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू, प्रत्येकलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लाउन कर लगायो। त्यो छापचाहिँ त्यस पहिलो पशुको नाउँ अथवा त्यसको नाउँको संख्या हो, यो छाप नभईकन कसैले पनि किन्न वा बेच्न नपाउने भयो। बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्, किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
प्रकाश 13:11-18 पवित्र बाइबल (NERV)
त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडा़को पाठाको जस्तो दुइवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो। यो पशु पहिलेको पशु अघि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो। यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्र्न लाग्यो। त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन। त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो। त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो। कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।
प्रकाश 13:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो। त्यसले त्यो पहिलो जनावरपट्टिबाट त्यसको ठूलो अधिकार चलायो र त्यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो। यो दोस्रो जनावरले अचम्म-अचम्मका चिन्हहरू देखायो। सबैले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगो झार्यो। त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो। पहिलो जनावरको मूर्तिले बोलोस् र त्यो मूर्ति पूजा नगर्नेहरू जतिलाई मारिदेओस् भनेर त्यस जनावरको मूर्तिमा सास फुकिदिने अधिकार दोस्रो जनावरलाई दिइएको थियो। तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो। यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए। यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।