प्रकाश 11:1-19
प्रकाश 11:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि नाप्ने टाँगोजस्तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ, र त्यहाँ आराधना गर्नेहरूको गन्ती लेऊ। तर मन्दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्। मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।” पृथ्वीका प्रभुको सामुन्ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्। यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ। तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ। तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ। तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्। पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन्। किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई सास्ती दिएका थिए। साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो। अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए। त्यही घड़ी ठूलो भूकम्प गयो, र सहरको दशौँ भाग ढल्यो, र भूकम्पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए। दोस्रो विपत्ति बित्यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।” अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए, “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” अनि परमेश्वरको सामुन्ने आ-आफ्ना सिंहासनमा बस्ने ती चौबीसै धर्म-गुरुहरूले घोप्टो परी परमेश्वरलाई दण्डवत् गरे, भन्न लागे, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले आफ्नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो। जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।” स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्प गए र ठूला-ठूला असिना परे।
प्रकाश 11:1-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई एउटा नाप्ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर। तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्। अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।” यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।” यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ। यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ। अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ। तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्। पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए। तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए। तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए। ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्वरलाई महिमा दिए। दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ। जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” अनि परमेश्वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्वरलाई आराधना गर्दै यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ। राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।” तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
प्रकाश 11:1-19 पवित्र बाइबल (NERV)
त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।” यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्। जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए। तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे। त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे। दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ। सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने, “संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।” तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। ती अग्रजहरूले भने, “प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ। तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो। संसारका राष्ट्रहरू क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरूको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।” त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
प्रकाश 11:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि नाप्ने डण्डाजस्तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्यो, “उठेर जाऊ, परमेश्वरको मन्दिर र त्यसको वेदी नाप अनि मन्दिरमा पूजा गर्नेहरूलाई गन। मन्दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्म परमेश्वरको सहरलाई कुल्ची-मिल्ची गर्नेछन्। अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म परमेश्वरको वचन घोषणा गर्न पठाउनेछु।” ती दुई साक्षीहरू दुई भद्राक्षका रूख र पृथ्वीका प्रभुको सामुन्ने खडा रहने दुई सामदान हुन्। कसैले उनीहरूलाई नाश गर्न खोजे उनीहरूका मुखबाट आगो निस्की ती शत्रुलाई नाश गर्नेछ। त्यसरी उनीहरूलाई हानि गर्न खोज्ने सबै मारिनेछन्। परमेश्वरको वचन उनीहरूले सुनाउञ्जेल पानी नपरोस् भनेर आकाश बन्द गर्ने उनीहरूको हक र पानीका मूलहरूलाई रगत बनाउन अनि पृथ्वीमा उनीहरूले चाहेअनुसार किसिम-किसिमको माहामारी ल्याउने अधिकार पनि उनीहरूलाई छ। उनीहरूले घोषणा गर्ने काम सिध्याएपछि त्यो गहिरो भड्खालाबाट निस्कने जनावरले यी दुईसँग लडाइँ गरी उनीहरूलाई जितेर मारिदिनेछ। तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्यो ठूलो सहरको बाटोमा त्यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्छ। साढे तीन दिनसम्म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्न दिनेछैनन्। यी दुई साक्षी मारिएकोमा संसारका मानिसहरू रमाउनेछन्। उनीहरूले खुसी मनाउनेछन् र एक-अर्कालाई उपहार पठाउनेछन् किनभने यी दुई अगमवक्ताले संसारका मानिसहरूलाई धेरै सताएका थिए। साढे तीन दिन बितिसकेपछि परमेश्वरबाट जीवन दिने सास ती दुईमा पस्यो र उनीहरू आफ्ना खुट्टामा उभिए। त्यो देखेर मानिसहरू एकदमै डराए। ती दुई अगमवक्ताले स्वर्गबाट एउटा यस्तो ठूलो सोर सुने, “यता उक्लेर आओ।” तब सबै दुश्मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्वर्ग गए। त्यति नै खेर जोडले भूइँचालो गयो र त्यो ठूलो सहरको दशौँ भाग भत्कियो। यस भूइँचालोमा सात हजार मान्छे मारिए र बाँकी रहेकाहरूले असाध्य डराएर स्वर्गमा विराजमान् हुनुभएका परमेश्वरको प्रशंसा गरे। दोस्रो विपत्ति बित्यो अब तेस्रो विपत्ति आउन आँटेको छ! यसपछि सातौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि स्वर्गमा ठूला-ठूला सोरले यसो भने, “पृथ्वीमाथि राज्य गर्ने अधिकार अबदेखि हाम्रा प्रभु र उहाँका ख्रीष्टकै हो र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” त्यसपछि परमेश्वरको अगाडि आफ्ना-आफ्ना सिंहासनमा बस्ने ती चौबीस धर्म-गुरुहरूले परमेश्वरको चरणमा दण्डवत् गरे र यसो भनेर उहाँको जयजयकार गरे, “हे प्रभु परमेश्वर, सर्वशक्तिमान्, जो हुनुहुन्छ र हुनुहुन्थ्यो, हामी तपाईंलाई धन्यवाद चढाउँछौं किनभने तपाईंले आफ्नो ठूलो अधिकार लिनुभएको छ र आफ्नो राज्य सुरु गर्नुभएको छ। जाति-जातिहरू रिसाएका छन्, अब त तपाईंको रिसाउने बेला भयो र मरेकाहरूको न्याय गर्ने बेला आएको छ। तपाईंका सेवकहरू अर्थात् तपाईंका अगमवक्ताहरूलाई, पवित्रजनहरूलाई र तपाईंको नाउँ मान्ने साना-ठूला सबैलाई इनाम दिने र पृथ्वी बिगार्नेहरूलाई नाश पार्ने बेला भएको छ।” तब स्वर्गमा भएको परमेश्वरको पवित्र मन्दिर खोलियो र यहाँ वाचाको सन्दुक देखियो। त्यसपछि बिजुली चम्क्यो। डरलाग्दा आवाजहरू र गड्याङ्-गुडुङ सुनियो, भूइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।