भजनसंग्रह 91:3-13
भजनसंग्रह 91:3-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ। तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन। तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ— तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन। किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्। तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
भजनसंग्रह 91:3-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ। उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ। तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ, न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ। तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन। तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्टहरूको दण्ड देख्नेछौ। यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने, तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन। किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ; तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्। तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ; जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।
भजनसंग्रह 91:3-13 पवित्र बाइबल (NERV)
परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ। तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ, जसरी एउटा चराले आफ्ना पखेंटाहरू फिँजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ। तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं। तिमी राती चल्ने रूढीदेखि डराउने छैनौ। र दिउँसो क्षय गर्ने नाशदेखि पनि डराउने छैनौ। तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। ती शत्रुहरूले तपाईंलाई छुँदैनन् पनि। हेर मात्र, अनि तिमीले देख्ने छौ ती दुष्ट मानिसहरू दण्डित भएको। किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ। तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन। परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्। तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन। तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
भजनसंग्रह 91:3-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ। उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्वासयोग्यताले तिमीलाई रक्षा गरेर बचाउनेछ। दिउँसो अचानक आइलाग्ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्नुपर्नेछैन वा अन्धकारमा आइलाग्ने आपत्-विपद् अथवा दिउँसै प्राण लिने दुष्ट कुराहरूदेखि डराउनुपर्नेछैन। तिम्रो छेउमा हजार जना लोट्लान्, तिम्रा चारैपट्टि दश हजार, तर तिमीलाई केही चोट लाग्नेछैन। दुष्टहरूले कसरी सजायँ पाउँछन्, तिमीले देख्नेछौ। परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन। तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्वरले आफ्ना दूतहरूलाई तिम्रो जिम्मा दिनुहुनेछ। ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्ना हातले तिमीलाई उचालिराख्नेछन्। तिमीले सिंहहरू र सर्पहरू, डरलाग्दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्चनेछौ।