भजनसंग्रह 90:1-17
भजनसंग्रह 90:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रो वासस्थान हुनुभएको छ। पहाड़हरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ। तपाईं मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र भन्नुहुन्छ, “ए मानिसका सन्तान हो, धूलोमा फर्किजाओ।” किनकि तपाईंको दृष्टिमा एक हजार वर्ष हिजो बिताएको एक दिनजस्ता मात्र छन्, अथवा रातको एक पहरजस्तै। तपाईंले मानिसहरूलाई मृत्युको निद्रामा बगाइलानुहुन्छ। तिनीहरू बिहान पलाउने घाँसजस्तै छन्। यद्यपि त्यो बिहान मौलाउँछ, बेलुकी त्यो सुक्छ र ओइलिन्छ। हामी तपाईंको क्रोधमा भस्म भएका छौं, र तपाईंको आक्रोशमा हामी आतङ्कित हुन्छौं। तपाईंले हाम्रा अधर्म आफ्नै सामुन्ने राख्नुभएको छ, हाम्रा गुप्त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्। हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं। हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं। तपाईंका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। हे परमप्रभु, नम्र हुनुहोस्, अझै कति बेर लाग्ने हो? आफ्ना दासहरूमाथि दया गर्नुहोस्। बिहान आफ्नो नटल्ने करुणाले हामीलाई तृप्त पार्नुहोस्, र हामी आफ्ना जीवनभरि रमाएर गाउन सकौं। जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दु:ख भोग्यौं, त्यत्ति दिन हामीलाई आनन्दित तुल्याउनुहोस्। तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्। हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस्, र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ़ पारिऊन्। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्।
भजनसंग्रह 90:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्रभु, पुस्तौँ-पुस्तादेखि तपाईं हाम्रा वासस्थान हुनुभएको छ। पहाडहरू उत्पन्न हुनुभन्दा अगि, अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि, अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्वर हुनुहुन्छ। तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ, “ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!” तपाईंको दृष्टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ। तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्: त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ। तपाईंको क्रोधले हामी नष्ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ। तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ, हाम्रा गुप्त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्। हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ। हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, अथवा बलले साथ दियो भने, असीसम्म; तापनि त्यसको उत्तम अवधि पनि कष्ट र शोकमा बित्छ; किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ। तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्, ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ! हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्! हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ। जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्! तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्! प्रभु हाम्रा परमेश्वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!
भजनसंग्रह 90:1-17 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ। परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं। परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ। तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ। तपाईंको लागि हजारौं बर्षहरू पनि हिजो बितेको रात जस्तै लाग्दछ। हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ। बिहान पख घाँस उम्रन्छ अनि बेलुकी यो ओइलाएर मर्छ। हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ। तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ। तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ। कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ। हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं। हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन। तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ। हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस, ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं। हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्। आफ्ना दासहरू प्रति दयालु हुनुहोस्। प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं। तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्। तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्, जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ, अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्। हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
भजनसंग्रह 90:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे प्रभु, तपाईं सदैव हाम्रा बासस्थान हुनुभएको छ। तपाईंले पहाडहरू र यस संसारलाई बनाउनुभन्दा अघि तपाईं अनन्त परमेश्वर हुनुहुन्थ्यो र अनन्तकालको परमेश्वर हुनुहुन्छ। मानिस जे थियो, त्यही बन्नलाई तपाईंले फर्काउनुहुन्छ, तपाईंले उसलाई फेरि माटो नै बनाउनुहुन्छ। एक हजार वर्ष तपाईंको लागि एक दिनजस्तो हो, त्यो बितिसकेको हिजोजस्तो, रातको एउटा छोटो पहरजस्तो मात्र हो। भलले जस्तो हामीलाई बगाएर तपाईंले लैजानुहुन्छ, हाम्रो जुनी सपनाजस्तो छोटो छ। बिहान उम्रने झारपातजस्तो हामी छौं, त्यो बढेर फुल्दछ र साँझमा सुकेर मरिजान्छ, तपाईंको रिसले हामी नाश हुन्छौं, तपाईंको बल्दो क्रोधले हामीलाई भयभीत पार्दछ। तपाईंले हाम्रा पाप आफ्नो सामु राख्नुहुन्छ, हाम्रा गुप्तका पाप आफूले देख्ने ठाउँमा राख्नुहुन्छ। तपाईंको क्रोधले हाम्रो आयु घटाउँदछ, कानेखुसी गरेको कुराझैँ हाम्रो जीवन बिलाउँदछ। हामी जम्मा सत्तरी वर्षसम्म जिउँछौं– बलिया छौं भन्ने असी वर्षसम्म होला; तर तिनीहरूले हामीलाई कष्ट र अफसोस मात्र ल्याउँछन्, जीवन चाँडो बितिजाँदछ र हामी गइसकेका हुन्छौं। तपाईंको क्रोधको शक्ति कसले चाल पाएको छ र? तपाईंको बल्दो क्रोधले कस्तो डर ल्याउन सक्छ, कसले जानेको छ? हामीलाई सिकाउनुहोस् कि हाम्रो जीवन कति छोटो छ र हामी बुद्धिमान् बन्न सकौं। अझै कति दिनसम्म तपाईंको क्रोध रहला? हे परमप्रभु! आफ्ना दासहरूलाई टिठ्याउनुहोस्। हरेक बिहान आफ्नो अनन्त प्रेमले हामीलाई भर्नुहोस् र हामी भजन गाउन सकौं र जीवनभरि आनन्द गर्न सकौं। अब हामीलाई त्यति नै आनन्द दिनुहोस्, जति तपाईंले हाम्रा कष्टका दिनमा हामीलाई खिन्नता दिनुभएको थियो। हामी तपाईंका दासहरूले तपाईंका सामर्थ्यका कामहरू देख्न पाऔं, हाम्रा सन्तानले तपाईंको गौरवपूर्ण सामर्थ्य देख्न पाऊन्। प्रभु, हाम्रा परमेश्वर, तपाईंको आशीर्वाद हामीमाथि रहोस्, हामीले गरेका सबै काममा हामीलाई सफलता दिनुहोस्।