YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:19-35

भजनसंग्रह 68:19-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ। निश्‍चय नै परमेश्‍वरले आफ्‍ना शत्रुहरूका टाउको कुच्‍च्‍याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्‍ना पापमा लागिरहन्‍छन्‌। परमप्रभु भन्‍नुहुन्‍छ, “म तिनीहरूलाई बाशानबाट ल्‍याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्‍याउनेछु। यसरी तिमीहरूले आफ्‍ना खुट्टा शत्रुहरूको रगतमा चोबल्‍नेछौ, र तिमीहरूका कुकुरका जिब्राले पनि त्‍यसमा भाग पाउनेछन्‌।” हे परमेश्‍वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्‍वर र महाराजाको शोभा-यात्रा पवित्रस्‍थानतिर प्रस्‍थान भइरहेको छ। अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू, र तिनीहरूसित खैँजड़ी बजाउने कन्‍याहरू। ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर। सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌। हे परमेश्‍वर, आफ्‍नो शक्ति बोलाउनुहोस्‌, अघि गर्नुभएजस्‍तै, हे परमेश्‍वर, आफ्‍नो शक्ति हामीलाई देखाउनुहोस्‌। यरूशलेममा तपाईंका मन्‍दिरको खातिर राजाहरूले तपाईंको निम्‍ति भेटी ल्‍याउनेछन्‌। नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌। मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ। हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला उहाँ, जो प्राचीन स्‍वर्गमा सवार हुनुहुन्‍छ, जो आफ्‍नो शक्तिशाली आवाजसित गर्जनुहुन्‍छ। परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ। हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:19-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ। परमेश्‍वरले निश्‍चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ; ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्। प्रभु भन्‍नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु; म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु; तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक, र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।” हे परमेश्‍वर, तपाईंको विजययात्रा देख्न सकिन्छ, मेरा परमेश्‍वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ। गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्; र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्। ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर! इस्राएलको सभामा याहवेहको प्रशंसा गर! सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ, यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्; जबूलूनका र नप्‍तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्। हे परमेश्‍वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्; हे परमेश्‍वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्। यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर तपाईंको निम्ति राजाहरूले भेटीहरू ल्याउनेछन्। निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्; राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्! हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्। लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्। राजदूतहरू इजिप्टबाट आउनेछन्; कूशले आफूलाई परमेश्‍वरमा समर्पण गर्नेछ। हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर, प्रभुको प्रशंसा गाओ; सेला उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्‍च स्वर्गमा सवार गर्नुहुन्छ, जो शक्तिशाली आवाजका साथ गर्जनुहुन्छ। परमेश्‍वरको शक्तिको घोषणा गर, जसको महानता इस्राएलभरि छाएको छ, आकाशले उहाँको शक्ति देखाउँछ। तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ; इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:19-35 पवित्र बाइबल (NERV)

परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ। परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ। परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ। मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु, म पश्चिमबाट शत्रु ल्याउनेछु। यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक, यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।” हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको! हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको! आगाडि गायकहरू हिँडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिँड्दैछन्। तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्। समुदायहरूमा परमेश्वरको प्रशंसा गर! हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर! त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्। हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्! हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्। राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्। मिश्रमा भएका ती “मानिसहरूलाई” तिम्रो लठ्ठीले सधाऊ। तीनीहरू मानिसहरूको चरणमा भएका “पशुहरू” जस्ता छन्। “बाछाहरूको” माझमा “साँढेहरू” जस्ता छन्। तिनीहरूलाई तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्छन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ। मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ। हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ। हाम्रो स्वामीको स्तुति-गान गर! परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन! परमेश्वरको प्रशंसा गाऊ, किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ अनि उहाँको शक्ति आकाशमा छ। हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:19-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दिन दिनै हाम्रा बोझ बोकिदिनुहुने प्रभुको प्रशंसा गर। उहाँ हामीलाई बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। हाम्रा परमेश्‍वर हामीलाई बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, उहाँ हामीलाई मृत्‍युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्‍छ। आफ्‍नै पापी चालमा चलिरहने शत्रुहरूका टाउकाहरू परमेश्‍वरले साँच्‍चै फुटाउनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ, “म तिम्रा शत्रुहरूलाई बाशानदेखि र समुद्र तलदेखि फर्काई ल्‍याउनेछु र तिनीहरूका रगतमा तिमीहरू पाइला चालेर हिँड्‍नेछौ र तिम्रा कुकुरहरूले चाहेजति रगत चाट्‍नेछन्।” हे परमेश्‍वर! तपाईंको विजय यात्रा, परमेश्‍वर मेरा राजाको आफ्‍नो पवित्रस्‍थानमा विजय सवारी सबैले देखेका छन्। अघि-अघि गवैयाहरू, पछि-पछि बाजा बजाउनेहरू छन् र बीचमा खैँजडी बजाउने ठिटीहरू छन्। “हे याकूबका सन्‍तान हो! परमप्रभुको प्रशंसा गर! उहाँका आफ्‍ना प्रजा भेला भएका सभामा परमेश्‍वरको प्रशंसा गर!” पहिले सबैभन्दा सानो बेन्‍यामीन कुल आउँछ, त्‍यसपछि यहूदा कुलका अगुवाहरू आफ्‍ना झुण्‍डसहित आउँछन्, तिनका पछि-पछि जबूलून र नप्‍ताली कुलका अगुवाहरू आउँछन्। हे परमेश्‍वर! आफ्‍नो शक्ति देखाउनुहोस्। यरूशलेमको मन्‍दिर, जहाँ राजाहरूले तपाईंलाई भेटी चढाउँछन्, त्‍यहाँदेखि तपाईंले हाम्रो पक्षमा चलाउनुभएको शक्ति देखाउनुहोस्। त्यो निगालोका बीचमा भएको जङ्गली जनावरजस्‍तो मिश्रदेशलाई, साँढे र तिनका बाछाहरूका बथानजस्‍ता जाति-जातिलाई हकार्नुहोस्, दण्‍डवत् गरेर आफ्‍ना चाँदीहरू तपाईंलाई नचढाउञ्‍जेलसम्‍म तिनीहरूलाई हकार्नुहोस्। लडाइँ गर्न रुचाउनेहरूलाई छरपष्‍ट पार्नुहोस्! राजदूतहरू मिश्रदेखि आउनेछन्, कूशले परमेश्‍वरलाई हात उचालेर प्रार्थना गर्नेछन्। हे संसारका राज्‍यहरू हो! परमेश्‍वरको स्‍तुति गाओ, प्राचीनकालदेखिका आकाशमा सवार हुनुहुने परमप्रभुको प्रशंसा गाओ। उहाँ उच्‍च स्‍वरले कराउनुभएको सुन। परमेश्‍वरको सामर्थ्‍यबारे स्‍वर उचालेर भन, उहाँको गौरव इस्राएलमाथि छाएको छ, उहाँको सामर्थ्‍य आकाशमा फैलिएको छ। इस्राएलका परमेश्‍वर आफ्‍ना मन्‍दिरदेखि आउनुहुँदा कति डरलाग्‍दो देखिनुहुन्‍छ! उहाँले आफ्‍ना प्रजालाई शक्ति र बल दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:19-35

भजनसंग्रह 68:19-35 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्