YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 62:1-12

भजनसंग्रह 62:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो प्राणले परमेश्‍वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ। उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्‍छ, उहाँ मेरो किल्‍ला हुनुहुन्‍छ, म कहिल्‍यै डग्‍नेछैनँ। एक जना मानिसमाथि कहिलेसम्‍म तिमीहरू आक्रमण गरिबस्‍छौ? ढल्‍न लागेको पर्खाल र कमजोर बारजस्‍तै भएको त्‍यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्‍छौ? त्‍यसको उच्‍च स्‍थानबाट त्‍यसलाई खसाल्‍नलाई तिनीहरूले दृढ़ विचार गरेका छन्‌। तिनीहरू असत्‍यतामा प्रसन्‍न रहन्‍छन्‌। तिनीहरू मुखले त आशीर्वाद दिन्‍छन्‌, तर मनमा तिनीहरू सराप्‍छन्‌। सेला हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ। म डग्‍नेछैनँ। मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला निम्‍न स्‍तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्‌, उच्‍च स्‍तरका चाहिँ भ्रम मात्र हुन्‌। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्‍छन्‌, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्‌। धुत्‍ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्‍पत्ति बढ़्यो भने त्‍यसमा आफ्‍नो हृदय नलगाओ। परमेश्‍वरले एउटा कुरो बोल्‍नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्‍वर, तपाईं बलिया हुनुहुन्‍छ, र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्‍छ। निश्‍चय नै हरेक मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 62 पढ्नुहोस्

भजनसंग्रह 62:1-12 पवित्र बाइबल (NERV)

मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ। मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन। कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु, ढल्न तयार भएको बार हुँ। मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्। मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ। परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ। परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ। हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख। तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ। मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्। सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्‌य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर। परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’” हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 62 पढ्नुहोस्

भजनसंग्रह 62:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले मलाई बचाऊन् भनेर म धैर्यसित फर्कन्‍छु, म उहाँमाथि मात्र भर पर्दछु। उहाँले मात्र मेरो रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, उहाँ मेरो रक्षक हुनुहुन्‍छ र म कहिल्‍यै हार्नेछैनँ। अझ कहिलेसम्‍म तिमीहरू सबै जना भत्‍केका बार जति पनि बलियो नभएको मानिसमाथि जाइलाग्‍ने हो? उसको सम्‍मानको स्‍थानबाट उसलाई तिमीहरू खसाल्‍न मात्र चाहन्‍छौ, तिमीहरूले झूट कुरामा आनन्‍द पाउँछौ। तिमीहरूले आशिष् दिएर बोलिटोपल्‍छौ, तर हृदयमा उसलाई सराप्‍छौ। म परमेश्‍वरमा मात्र भर पर्दछु, म उहाँमा आफ्‍नो आशा राख्‍दछु। उहाँले मात्र मेरो रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, उहाँ मेरो रक्षक हुनुहुन्‍छ र कहिल्‍यै मेरो हार हुनेछैन। मेरा उद्धार र सम्‍मानको लागि म परमेश्‍वरमा भर पर्दछु, उहाँ मेरो सामर्थी रक्षक हुनुहुन्‍छ, उहाँ मेरो आश्रय हुनुहुन्‍छ। हे मेरा मानिसहरू हो! सधैँ परमेश्‍वरमा भरोसा गर, उहाँलाई आफ्‍ना सबै दु:ख-कष्‍ट भन किनभने उहाँ हाम्रा शरणस्‍थान हुनुहुन्‍छ। मानिसहरू एक मुट्ठी सासजस्‍ता मात्र हुन्, ठूला-साना सबै बेकामका छन्। तिनीहरूलाई तराजुमा तौलेर हेर, तिनीहरूको केही ओजन छैन। तिनीहरू हावाभन्दा पनि हलुङ्गा छन्। हिँसामाथि भरोसा नगर, चोरी गरेर केही नाफा पाउने आशा नगर, तिम्रा धन-सम्‍पत्ति बढे तापनि तिनमा भर नपर। एक पटक होइन, धेरै पटक, परमेश्‍वरले, “शक्ति मेरो हो,” र “मेरो प्रेम सधैँ एकनाश छ,” भन्‍नुभएको मैले सुनेको छु। तपाईं आफैंले, हे परमप्रभु, हरेकलाई उसको कामअनुसार इनाम दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 62 पढ्नुहोस्