भजनसंग्रह 62
62
परमेश्वरको रक्षामा भरोसा
1परमेश्वरले मलाई बचाऊन् भनेर म धैर्यसित फर्कन्छु,
म उहाँमाथि मात्र भर पर्दछु।
2उहाँले मात्र मेरो रक्षा गर्नुहुन्छ
र मलाई बचाउनुहुन्छ,
उहाँ मेरो रक्षक हुनुहुन्छ र म कहिल्यै हार्नेछैनँ।
3अझ कहिलेसम्म तिमीहरू सबै जना भत्केका बार जति पनि
बलियो नभएको मानिसमाथि जाइलाग्ने हो?
4उसको सम्मानको स्थानबाट उसलाई तिमीहरू खसाल्न मात्र चाहन्छौ,
तिमीहरूले झूट कुरामा आनन्द पाउँछौ।
तिमीहरूले आशिष् दिएर बोलिटोपल्छौ,
तर हृदयमा उसलाई सराप्छौ।
5म परमेश्वरमा मात्र भर पर्दछु,
म उहाँमा आफ्नो आशा राख्दछु।
6उहाँले मात्र मेरो रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ,
उहाँ मेरो रक्षक हुनुहुन्छ
र कहिल्यै मेरो हार हुनेछैन।
7मेरा उद्धार र सम्मानको लागि म परमेश्वरमा भर पर्दछु,
उहाँ मेरो सामर्थी रक्षक हुनुहुन्छ,
उहाँ मेरो आश्रय हुनुहुन्छ।
8हे मेरा मानिसहरू हो! सधैँ परमेश्वरमा भरोसा गर,
उहाँलाई आफ्ना सबै दु:ख-कष्ट भन
किनभने उहाँ हाम्रा शरणस्थान हुनुहुन्छ।
9मानिसहरू एक मुट्ठी सासजस्ता मात्र हुन्,
ठूला-साना सबै बेकामका छन्।
तिनीहरूलाई तराजुमा तौलेर हेर, तिनीहरूको केही ओजन छैन।
तिनीहरू हावाभन्दा पनि हलुङ्गा छन्।
10हिँसामाथि भरोसा नगर,
चोरी गरेर केही नाफा पाउने आशा नगर,
तिम्रा धन-सम्पत्ति बढे
तापनि तिनमा भर नपर।
11एक पटक होइन, धेरै पटक,
परमेश्वरले, “शक्ति मेरो हो,”
12 #
अय्यूब 34:11; यर्मिया 17:10; मत्ती 16:27; रोमी 2:6; प्रकाश 2:23 र “मेरो प्रेम सधैँ एकनाश छ,” भन्नुभएको मैले सुनेको छु।
तपाईं आफैंले, हे परमप्रभु, हरेकलाई उसको कामअनुसार इनाम दिनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 62: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.