YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:23-40

भजनसंग्रह 37:23-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ। त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ। म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ। तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌। खराबीदेखि फर्केर अलग्‍ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्‍नेछौ। किनकि परमप्रभु न्‍यायीलाई प्रेम गर्नुहुन्‍छ, र आफ्‍नो विश्‍वाशयोग्यहरूलाई उहाँले त्‍याग्‍नुहुन्‍न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्‌, तर दुष्‍टका सन्‍तान भने बहिष्‍कृत हुनेछन्‌। धर्मीहरूले देश अधिकार गर्नेछन्‌, र त्‍यहाँ सधैँभरि वास गर्नेछन्‌। धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्‍यसको जिब्रोले न्‍यायको कुरा बोल्‍छ। त्‍यसको हृदयमा त्‍यसका परमेश्‍वरको व्‍यवस्‍था हुन्‍छ, त्‍यसका खुट्टा चिप्‍लँदैनन्‌। धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌। तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्‌नुहुनेछैन, न त त्‍यसको न्‍याय हुँदाखेरि त्‍यसलाई दोषी ठहराउन दिनुहुन्‍छ। परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ। मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो। तर त्‍यो चाँड़ै मर्‍यो र रहेन। मैले खोजें, तर त्‍यो पाउन सकिएन। निर्दोष मानिसलाई विचार गर, र सत्‍यनिष्‍ठ जनलाई हेर, किनभने शान्‍तिप्रिय मानिसको सन्‍तान हुन्‍छ। तर अपराधीहरूचाहिँ सखापै हुनेछन्‌, दुष्‍टका सन्‍तानचाहिँ बहिष्‍कृत हुनेछन्‌। धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ। परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्‍छ, किनभने तिनीहरूले उहाँको शरण लिन्‍छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:23-40 पवित्र बाइबल (NERV)

सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ। यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ। म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन। धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्। यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सँघै बाँच्ने छौ। परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ। धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्। धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ। उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन। तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्। जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ। मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो। तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिनँ। शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्। तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्। धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ। जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ। परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्, अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:23-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्‍याउनुहुन्‍छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्‍छ। तिनीहरू लडे भने पनि त्‍यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्‍यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्‍याँक्‍नुभएको वा तिनका सन्‍तानले भिख मागेको मैले देखेको छैनँ। भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्‍छ र तिनीहरूका सन्‍तान आशिषित हुनेछन्। खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्‍तानले सधैँभरि देशमा बास गर्नेछन् किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ र आफ्‍ना विश्‍वासयोग्‍य प्रजालाई त्‍याग्‍नुहुन्‍न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्‍छ र दुष्‍टका सन्‍तानचाहिँ भाग्‍नुपर्नेछ। धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्‍यहाँ सदा बास गर्नेछ। तर भलो मानिसले बुद्धिको कुरा बोल्‍छ, उसले न्‍यायको कुरा बोल्‍छ। उसले आफ्‍नो हृदयमा परमेश्‍वरको व्‍यवस्‍थालाई राख्‍दछ र कहिल्‍यै त्‍यसलाई छोड्दैन। दुष्‍ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्‍छ र उसलाई मार्ने चेष्‍टा गर्दछ। तर परमप्रभुले उसलाई शत्रुको हातमा छोडिदिनुहुन्‍न वा मुद्दा चलेको बेलामा उसलाई दोषी ठहराउनुहुन्‍न। तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्‍यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्‍टहरू भागेको तिमीले देख्‍नेछौ। एकपल्‍ट म एक जना दुष्‍ट मानिसलाई चिन्‍दथें, जसले अरूलाई खुबै सताउँथ्‍यो, लेबनानको देवदारुजस्‍तै त्‍यो सबैभन्दा उच्‍च भएको थियो। तर पछि म त्‍यहाँबाट भएर जाँदा त्‍यो त्‍यहाँ थिएन, मैले त्‍यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्‍यानसित हेर, शान्‍तिप्रिय मानिसका आफ्‍ना साखा-सन्‍तान हुन्‍छन्। तर पापीहरू नाश भएर जान्‍छन्। अनि तिनका साखा-सन्‍तानको नाउँ-निशाना हराएर जान्‍छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्‍छ र आपत्‌को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्‍छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ। दुष्‍ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्‍छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्