परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्याउनुहुन्छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्छ। तिनीहरू लडे भने पनि त्यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्याँक्नुभएको वा तिनका सन्तानले भिख मागेको मैले देखेको छैनँ। भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्छ र तिनीहरूका सन्तान आशिषित हुनेछन्। खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्तानले सधैँभरि देशमा बास गर्नेछन् किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य प्रजालाई त्याग्नुहुन्न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्छ र दुष्टका सन्तानचाहिँ भाग्नुपर्नेछ। धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्यहाँ सदा बास गर्नेछ। तर भलो मानिसले बुद्धिको कुरा बोल्छ, उसले न्यायको कुरा बोल्छ। उसले आफ्नो हृदयमा परमेश्वरको व्यवस्थालाई राख्दछ र कहिल्यै त्यसलाई छोड्दैन। दुष्ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्छ र उसलाई मार्ने चेष्टा गर्दछ। तर परमप्रभुले उसलाई शत्रुको हातमा छोडिदिनुहुन्न वा मुद्दा चलेको बेलामा उसलाई दोषी ठहराउनुहुन्न। तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्टहरू भागेको तिमीले देख्नेछौ। एकपल्ट म एक जना दुष्ट मानिसलाई चिन्दथें, जसले अरूलाई खुबै सताउँथ्यो, लेबनानको देवदारुजस्तै त्यो सबैभन्दा उच्च भएको थियो। तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्यानसित हेर, शान्तिप्रिय मानिसका आफ्ना साखा-सन्तान हुन्छन्। तर पापीहरू नाश भएर जान्छन्। अनि तिनका साखा-सन्तानको नाउँ-निशाना हराएर जान्छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्छ र आपत्को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। दुष्ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।
भजनसंग्रह 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 37:23-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू