YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:1-11

भजनसंग्रह 25:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु। हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌। तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌। हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌। तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ। परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌। हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:1-11 पवित्र बाइबल (NERV)

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु। हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्। यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्। हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्। बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु। हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ। म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्। किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्। परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ। जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ। परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ। हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु, हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्। हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्‍न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। तपाईंको सत्‍यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु। हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्‍ना दया र अटुट प्रेम सम्‍झनुहोस्। मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु! परमप्रभुले पापीहरूलाई हिँड्‍नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्‍छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्‍छ। उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ र आफ्‍ना इच्‍छाबारे सिकाउनुहुन्‍छ। उहाँका करार मान्‍ने र आज्ञापालन गर्नेहरूलाई उहाँले विश्‍वासयोग्‍यता र प्रेमसाथ डोर्‍याउनुहुन्‍छ। आफ्‍ना प्रतिज्ञा पूरा गर्नुहोस्, हे परमप्रभु र मेरा पापहरू धेरै भए तापनि क्षमा गर्नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्