भजनसंग्रह 22:1-9
भजनसंग्रह 22:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्छ? अनि मेरो करुण-क्रन्दनका शब्दहरूबाट त्यति टाढ़ा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न। राती पनि म शान्त बन्दिनँ। तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्। तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्छ गनिएको। मलाई देख्नेहरू जति सबैले मेरो ठट्टा गर्छन्। तिनीहरू ओठ लेब्र्याउँछन्, र मुन्टो बटार्दै भन्छन्, “त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाऊन्। उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ।” तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्ने बनाउनुभयो।
भजनसंग्रह 22:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ? हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन। तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्। तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको। मलाई देख्नेहरू सबैले मेरो गिल्ला गर्दछन्; तिनीहरूको टाउको हल्लाउँदै अपमान गर्दै भन्दछन्: “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।” तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
भजनसंग्रह 22:1-9 पवित्र बाइबल (NERV)
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ! हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ, अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ, तर तपाईंले मलाई उत्तर दिनु भएन। हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो। हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो। हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्! यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्। प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ। तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई उनले बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!” हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
भजनसंग्रह 22:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मेरा परमेश्वर! हे मेरा परमेश्वर! तपाईंले मलाई किन त्याग्नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन। हे मेरा परमेश्वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ। तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ। हाम्रा पुर्खाहरूले तपाईंमा भरोसा गरे, तिनीहरू तपाईंमा भर परे र तपाईंले तिनीहरूलाई बचाउनुभयो। तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे, तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन। तर मचाहिँ अब मानिस रहिनँ, म एउटा किरासरि हुँ, सबैले मलाई हेला र घृणा गर्छन्। मलाई देख्ने सबैले मेरो खिसी गर्छन्, तिनीहरूले मलाई ओठ लेब्र्याउँछन् र टाउका हल्लाउँछन्। तिनीहरू भन्छन्, “तिमी परमप्रभुमा भर पर्यौ। किन उहाँले तिमीलाई बचाउनुहुन्न? परमप्रभुले तिमीलाई मन पराउनुहुन्छ भने किन उहाँले तिम्रो मद्दत गर्नुहुन्न?” म जन्मँदा तपाईंले मलाई जोगाएर ल्याउनुभयो र म बालक छँदा मलाई तपाईंले कुशल राख्नुभयो।