भजनसंग्रह 21:8-13
भजनसंग्रह 21:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजिनिकाल्नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ। तपाईं प्रकट हुने समयमा तपाईंले तिनीहरूलाई दन्कने भट्टीझैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। तपाईंले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट। तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्। किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्। हामी तपाईंका पराक्रमको भजन र स्तुति गाउनेछौं।
भजनसंग्रह 21:8-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ। जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ। तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्ट पार्नुहुनेछ। तिनीहरूले तपाईंको विरुद्धमा दुष्ट युक्ति रचे, र दुष्ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्। किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ। हे याहवेह, आफ्नो शक्तिमा उच्च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।
भजनसंग्रह 21:8-13 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ। हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ। शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट लोप भएर गए। किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्। हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो, तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो। हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।
भजनसंग्रह 21:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले आफ्ना सबै शत्रुहरूलाई कैद गर्नेछन्, आफूलाई घृणा गर्ने सबैलाई उनले कैद गर्नेछन्। उनी देखा पर्दा दन्केको आगाले झैँ उनले तिनीहरूलाई नाश गर्नेछन्। आफ्नो रिसमा परमप्रभुले तिनीहरूलाई स्वाहा पार्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ। तिनीहरूका साखा-सन्तान कोही पनि बाँच्नेछैन, राजाले तिनीहरू सबैलाई मार्नेछन्। तिनीहरूले आफ्ना युक्ति निकाल्छन् र उनको विरुद्धमा जाल रच्छन्, तर तिनीहरू सफल हुनेछैनन्। उहाँले तिनीहरूलाई काँडले हान्नुहुनेछ र तिनीहरू फर्केर भागिजानेछन्। हे परमप्रभु! तपाईंको महान् सामर्थ्यको लागि हामी तपाईंको प्रशंसा गर्छौं! हामी तपाईंको शक्तिको प्रशंसा गर्दै गीत गाउँछौं।