भजनसंग्रह 119:25-48
भजनसंग्रह 119:25-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्राण धूलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। मैले आफ्नो आचरण तपाईंलाई खुलस्त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्। तपाईंका आदेशहरूका शिक्षा म बुझ्न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु। शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्। छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस्, तपाईंको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्। मैले त सत्यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्ने राखेको छु। तपाईंका कानूनहरूमा म स्थिर रहन्छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्। म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्छु, किनकि तपाईंले मेरो हृदयलाई स्वतन्त्र पारिदिनुभएको छ। हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु। तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्, किनकि त्यसैमा म हर्षित हुन्छु। मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्, स्वार्थपूर्ण लाभतिर होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्, र तपाईंको भय मानिओस्। जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्तछु। सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु। म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु। म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्नेछु, अनि म लाजमा पर्नेछैनँ। म तपाईंका आज्ञाहरूमा आनन्दमग्न हुन्छु, किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु।
भजनसंग्रह 119:25-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म धुलोमा लम्पसार परेको छु; आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्; ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ। शोकले गर्दा मेरो प्राण थाकेको छ; आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्! मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्! मैले विश्वासयोग्यताको मार्ग छानेको छु; मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु। हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु; मलाई शर्ममा पर्न नदिनुहोस्! म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ। हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ। मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्याउनुहोस्; किनकि म त्यसैमा प्रसन्न हुन्छु। मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्! जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्! हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्! हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्! तब मलाई गिल्ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु। तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु। म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु। म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु, र म लाजमा पर्नेछैनँ। किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु; किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु; ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ।
भजनसंग्रह 119:25-48 पवित्र बाइबल (NERV)
म चाँडै मर्नेछु, हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्। मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्। हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्। म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्। हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्। हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु। म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्। म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ। हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु। हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु। मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्। त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्। हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्, अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्। जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु। हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ। म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु। हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु। यसकारण म स्वतन्त्र हुने छु। किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें। म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्। म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु। परमप्रभु म ती आज्ञाहरू मन पराउँछु। हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।
भजनसंग्रह 119:25-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म हारेर माटोमा लडिरहेको छु, तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार मलाई फेरि उठाउनुहोस्। मैले गरेका सबै कुराको लागि म कायल भएँ र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका चालमा चल्न सिकाउनुहोस्। मलाई तपाईंका व्यवस्थाहरू बुझ्न सहायता गर्नुहोस् र म तपाईंका उदेकका शिक्षामा ध्यान दिनेछु। म अफसोसले विह्वल भएको छु, आफ्नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस्। मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्छ र मलाई आफ्ना व्यवस्था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्न रोजेको छु; मैले तपाईंको न्यायमा ध्यान दिएको छु। परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्। म उत्सुक भएर तपाईंका आज्ञाहरू मान्नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्छ। परमप्रभु, मलाई तपाईंका व्यवस्थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्यो पालन गर्नेछु। तपाईंको व्यवस्थाको अर्थ बुझाउनुहोस् र म त्यो मान्नेछु, मैले आफ्नो पूरा हृदयले त्यसको पालन गर्नेछु। मलाई तपाईंका आदेशहरू मान्न आज्ञाकारी बनाउनुहोस् किनभने मैले त्यसमा आनन्द पाउँदछु। धनी हुनुभन्दा तपाईंका व्यवस्था पालन गर्ने इच्छा मलाई दिनुहोस्। बेकामका कुरामा ध्यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञा, जुन प्रतिज्ञा तपाईंले आफ्ना आज्ञा मान्नेहरूसित गर्नुहुन्छ, त्यो मसँग पूरा गर्नुहोस्। मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्याय कति अचम्मका छन्! म तपाईंका आदेशहरू मान्न चाहन्छु, मलाई नयाँ जीवन दिनुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ। तपाईंले मलाई कति प्रेम गर्नुहुन्छ, मलाई देखाउनुहोस्, परमप्रभु! आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। तब मलाई अपमान गर्नेहरूलाई जवाफ दिन सक्छु किनभने म तपाईंको वचनमा भरोसा गर्दछु। सबै समय सत्य बोल्न शक्ति मलाई दिनुहोस् किनभने तपाईंका न्यायहरूमा मेरो आशा छ। म सदासर्वदै तपाईंको नियम मान्नेछु। म पूरा स्वतन्त्र भएर जिउनेछु किनभने म तपाईंका शिक्षाहरू मान्ने कोसिसमा रहँदछु। मैले राजाहरूलाई तपाईंका आज्ञाहरू सुनाउनेछु र म लाजमापर्नेछैनँ। म तपाईंका आज्ञाहरू मान्दा खुसी हुन्छु किनभने मैले ती आज्ञालाई प्रेम गर्दछु। म तपाईंका आज्ञाहरूको प्रेम र कदर गर्दछु, म तपाईंका अर्तीहरूमा ध्यान दिनेछु।