मेरो प्राण धूलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्।
मैले आफ्नो आचरण तपाईंलाई खुलस्त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्।
तपाईंका आदेशहरूका शिक्षा म बुझ्न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।
शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्।
छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस्, तपाईंको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्।
मैले त सत्यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्ने राखेको छु।
तपाईंका कानूनहरूमा म स्थिर रहन्छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्।
म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्छु, किनकि तपाईंले मेरो हृदयलाई स्वतन्त्र पारिदिनुभएको छ।
हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्,
र अन्त्यसम्म म ती पालन गर्नेछु।
मलाई समझशक्ति दिनुहोस्,
र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु।
तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्, किनकि त्यसैमा म हर्षित हुन्छु।
मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्, स्वार्थपूर्ण लाभतिर होइन।
व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्,
र तपाईंको भय मानिओस्।
जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्।
हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्,
र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्।
तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्तछु।
सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु।
म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु।
म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।
म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्नेछु, अनि म लाजमा पर्नेछैनँ।
म तपाईंका आज्ञाहरूमा आनन्दमग्न हुन्छु, किनकि म तिनलाई प्रेम गर्दछु।
मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु,
र तपाईंका विधिहरूमाथि मनन गर्दछु।