YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:1-22

भजनसंग्रह 105:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको निम्‍ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूका हृदय आनन्‍दित होऊन्‌। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज। उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएका हो। उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌। उहाँ आफ्‍नो करार सदा स्‍मरण गर्नुहुन्‍छ, त्‍यो वचन जो उहाँले हजारौं पुस्‍ताहरूलाई दिनुभएको थियो, त्‍यही करार, जो उहाँले अब्राहामसँग बाँध्‍नुभयो, त्‍यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो: “तँलाई म कनान देश दिनेछु, त्‍यो उत्तराधिकार तेरो अंश हुनेछ।” जब तिनीहरू गन्‍तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्‍यसमा पनि विदेशी थिए, तिनीहरू एक राष्‍ट्रबाट अर्को राष्‍ट्रमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भई हिँड्‌थे। उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो, “मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” उहाँले त्‍यस देशमा अनिकाल पठाउनुभयो, र अन्‍नका सारा आपूर्ति नै नष्‍ट गरिदिनुभयो। उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्‍जीर लगाइदिए, जबसम्‍म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्‍चा प्रमाणित गरेन। राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्‍धनबाट मुक्त गरे। राजाले तिनलाई आफ्‍नो राजभवनका प्रधान बनाए, र आफ्‍ना सबै सम्‍पत्तिका शासक तुल्‍याए, उनका राजकुमारहरूलाई तिनले चाहेजस्‍तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई।

शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्

भजनसंग्रह 105:1-22 पवित्र बाइबल (NERV)

परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ। परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ। परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ। बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैँ उहाँकोमा जाऊ। याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू। तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ। परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ। परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू! परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो। त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो, यो सदा-सर्वदा रहिरहने छ। परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।” परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे। तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे। तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो। परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।” परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्। तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो। तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए। उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो। यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ। उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे। यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।

शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्

भजनसंग्रह 105:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका महान्‌ता उच्‍च स्‍वरले प्रचार गर, उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ। परमप्रभुको प्रशंसा गाओ, उहाँले गर्नुभएका उदेकका कामको बयान गर। हर्ष मनाओ किनकि हामी उहाँका निज प्रजा हौं, उहाँलाई पुज्‍नेहरू सबै रमाऊन्। सहायताको लागि परमप्रभुकहाँ जाओ र उहाँलाई निरन्‍तर दण्‍डवत् गर। उहाँका सेवक अब्राहामका सन्‍तान, उहाँले रोज्‍नुभएको मानिस याकूबका सन्‍तान, तिमीहरू परमेश्‍वरले गर्नुभएको आश्‍चर्यका कामहरू र उहाँले दिनुभएको न्‍यायका फैसलाहरूलाई याद गर। परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हो। उहाँले आफ्‍नो करार सदाकालको लागि राख्‍नुहुन्‍छ र आफ्‍ना प्रतिज्ञाहरू हजारौं पुस्‍तासम्‍म। उहाँले अब्राहामसँग गर्नुभएको वाचा र इसहाकसँग गर्नुभएको प्रतिज्ञा राख्‍नुहुनेछ। परमप्रभुले सदाकालसम्‍म रहने एउटा करार याकूबसँग गर्नुभयो। उहाँले भन्‍नुभयो, “म तँलाई कनान देश दिनेछु र त्‍यो तेरो सम्‍पत्ति हुनेछ।” परमेश्‍वरका प्रजा थोरै थिए, तिनीहरू कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्‍यदेखि अर्को राज्‍य गरेर डुलिहिँड्थे। तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन, तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो: “मेरा चुनिएका सेवकहरूलाई हानि नगर, मेरा अगमवक्ताहरूलाई नछुनू।” परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो। उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो: योसेफ, जसलाई दास बनाएर बेचिएको थियो। उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए, उनले भनेका भविष्‍यवाणी पूरा नहोऊञ्‍जेलसम्‍म उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो। परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्‍यो। मिश्रका राजाले उनलाई छोडिदिए, जाति-जातिका शासकले उनलाई छुटकारा दिए। तिनले उनलाई आफ्‍नो राज्‍य चलाउने भार सुम्‍पे र सारा देशमाथि शासक खटाए। उनले राजाका भारदारहरूमाथि शक्ति चलाए र सल्‍लाहकारहरूलाई आदेश दिने अधिकार पाए।

शेयर गर्नुहोस्
भजनसंग्रह 105 पढ्नुहोस्

भजनसंग्रह 105:1-22

भजनसंग्रह 105:1-22 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्