भजनसंग्रह 104:1-35
भजनसंग्रह 104:1-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्। हे परमप्रभु मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ। तपाईं वैभव र ऐश्वर्यमा विभूषित हुनुहुन्छ। उहाँले प्रकाशलाई पोशाकझैँ पहिरनुभएको छ, उहाँले आकाशलाई पालजस्तै टाँग्नुभएको छ। उहाँले आफ्ना कोठाहरूका दलिनहरू पानीमाथि स्थिर गर्नुहुन्छ। उहाँले बादललाई आफ्नो रथ तुल्याउनुहुन्छ, र बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्छ। उहाँले बतासलाई आफ्नो दूत, र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ। पृथ्वी कहिल्यै नडग्मगाओस् भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो। तपाईंले त्यसलाई वस्त्रझैँ गहिरो समुद्रले ढाक्नुभयो, अनि पहाड़हरू माथि-माथिसम्म जल पुग्यो। तर तपाईंको खप्कीमा पानी भागिहाल्यो, तपाईंका गर्जनको आवाजमा त्यो तुरुन्तै हटिगयो। तपाईंले खटाउनुभएको स्थानमा जलराशि, पहाड़हरूमाथि उर्लंदै घाटी र बेँसीतिर झर्यो। पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो। उहाँले पानीका मूलहरूलाई खोल्सामा पानी खन्याउन लगाउनुहुन्छ, त्यो पानी पहाड़का बीचबाट बग्छ। तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्। जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा मार्दछन्। तिनीहरूकै छेउछाउमा आकाशका चराहरूले आफ्नो गुँड़ बनाउँछन्, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्। उहाँले आफ्नो उच्च स्थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्छ, उहाँका कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ। उहाँले गाईबस्तुका निम्ति घाँस, अनि मानिसहरूका निम्ति रूखपात उमार्नुहुन्छ, र जमिनबाट आहार ल्याउनुहुन्छ: मानिसको मन आनन्दित गराउनलाई दाखमद्य, र त्यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई रोटी उहाँले दिनुहुन्छ। परमप्रभुले लाउनुभएका वृक्षहरू र लेबनानका देवदारुहरूले मनग्य पानी पाएका छन्। त्यहाँ चराहरूले आफ्नो गुँड़ बनाउँछन्, सारसले चाहिँ सल्लाका रूखहरूमा आफ्नो घर बनाउँछ। अल्गा-अल्गा पहाड़हरू जङ्गली बाख्राहरूका निम्ति छन्, पहराहरू जङ्गली शापनहरूका निम्ति शरणस्थान हुन्छन्। चन्द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्नो अस्ताउने बेला थाहा हुन्छ। तपाईंले अन्धकार ल्याउनुहुन्छ, र रात पर्छ, अनि वनका सबै पशुहरू निस्किआउँछन्। सिंहहरू आफ्नो शिकारको निम्ति गर्जन्छन्, तिनीहरूले परमेश्वरबाट आफ्नो आहार खोज्छन्। सूर्य उदाउँदा ती गइहाल्छन्, र आफ्नो ओड़ारमा गएर लेट्छन्। तब मानिस आफ्नो कामतिर जान्छ, र साँझसम्म परिश्रम गर्छ। हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो। तपाईंले सृष्टि गर्नुभएका यावत् थोकले पृथ्वी परिपूर्ण छ। त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्ती जलचरहरू छन्, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्यहाँ छन्। त्यहाँ जहाजहरू यताउता जान्छन्। त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई रच्नुभयो। तपाईंबाट आफ्ना आहारा ठीक-ठीक समयमा पाउनका निम्ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्छन्। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्। तपाईंले आफ्नो मुहार छोप्नुहुँदा तिनीहरू भयभीत हुन्छन्। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्छन्, र फेरि धूलोमा नै फर्कन्छन्। तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूको सृष्टि हुन्छ, र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ। परमप्रभुको महिमा सदा भइरहोस्, परमप्रभु आफ्ना कार्यहरूमा प्रसन्न होऊन्। तपाईंको दृष्टि पर्दा पृथ्वी कम्पायमान हुन्छ, तपाईंको स्पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्कन्छ। मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्जेल मेरा परमेश्वरमा प्रशंसाको स्तुति गाउनेछु। मेरो चिन्तनमनन उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुन्छु। तर पापीहरू पृथ्वीबाट विलोप भइजाऊन्, र दुष्टहरू फेरि कहिल्यै नरहून्। हे मेरो प्राण, परमप्रभुको स्तुति गर्। परमप्रभुको प्रशंसा गर्।
भजनसंग्रह 104:1-35 पवित्र बाइबल (NERV)
हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ। तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ। परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढ्नुभयो। परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरूलाई बतास जस्ता अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तै बनाउनु भयो। हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन। तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए। तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो। पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खाडीहरूमा झर्दै, र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो। तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन। हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो। यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ। नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो अनि यहाँसम्म कि जंङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्। जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्। तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्। परमेश्वरले बर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्। परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्। परमेश्वरले हामीलाई दाखरस दिनुहुन्छ, जसले हामीलाई खुशी तुल्याउँछ, तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ। लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्। परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो। चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्। उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्। परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ। तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई, त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्। सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ। त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ अनि विश्राम गर्दछन्। तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्। हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं। समुद्रलाई हेर त्यो कति ठूलो छ। अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्। त्यस समुद्रमा जहाजहरू चल्दछ, लिब्यातान समुद्रमा खेल्छ। महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो। परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ। परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ। तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ, अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्। जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्। तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, अनि तिनीहरू स्वास्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ। परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्। परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ। उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ। मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु। भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु। पृथ्वीबाट पापहरू हटी जाओस्। दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।
भजनसंग्रह 104:1-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्! हे परमप्रभु, मेरा परमेश्वर, तपाईं कति महान् हुनुहुन्छ! तपाईंले महिमा र गौरव पहिरनुभएको छ। तपाईं ज्योतिले ढाकिनुभएको छ, तपाईंले पाल टाँगेजस्तै आकाश फैलाउनुभएको छ र आकाशमा पानीमाथि आफ्नो भवन बनाउनुभयो। तपाईं बादलका रथमा र बतासका पखेटामा सवार हुनुहुन्छ। बतासद्वारा तपाईंले आफ्ना समाचार पठाउनुहुन्छ र चम्केको बिजुलीद्वारा आफ्ना काम गराउनुहुँदछ। तपाईंले पृथ्वीलाई दरिलो गरेर त्यसका जगमा बसाल्नुभएको छ र त्यो कहिल्यै हल्लनेछैन। त्यसलाई महासागरले खास्टोले झैँ ढाक्नुभएको छ र पर्वतहरूलाई पानीले छोप्नुभएको छ। तपाईंले पानीलाई हकार्नुहुँदा ती भागे, तपाईंको आज्ञाको स्वर सुनेर ती हतारसाथ हटिगए। तपाईंले तयार पार्नुभएको ठाउँमा पहाडदेखि बेसीहरूमा ती बहिगए। तिनीहरूले नाघ्न नसक्ने गरी सिमाना तपाईंले लाइदिनुभयो र त्यसले तिनीहरूलाई फेरि पृथ्वीलाई ढाक्नदेखि रोक्दछ। तपाईंले बेसीमा खोला-नालालाई बग्न लाउनुहुन्छ र पहाडहरूका बीचमा नदीहरू बग्छन्। तिनीहरूले जङ्गली पशुहरूलाई पिउने पानी दिन्छन् र जङ्गली गधाहरूले त्यहाँ तिर्खा मेटाउदँछन्। चराहरूले छेउका रूखहरूमा गुँड बनाउँछन् र गाउँछन्, तपाईंले वर्षा आकाशबाट पहाडहरूमा पठाउनुहुन्छ र तपाईंको आशिष्ले पृथ्वी भरिएको छ। तपाईंले गाई-वस्तुको लागि घाँस-पात र मानिसको लागि बनस्पति उमार्नुहुन्छ र मानिसले अन्नबालीको उब्जनी गर्न सक्छन्। मानिस प्रसन्न हुनलाई मद्य, हँसिलो मुख हुनलाई भद्राक्षको तेल र बल पाउनलाई रोटी उहाँले दिनुहुन्छ। परमप्रभुले रोप्नुभएका रूखहरू लेबनानका देवदारुहरूले प्रशस्त वर्षा पाउँछन्। चराहरूले त्यहाँ आफ्ना गुँड बनाउँछन् र सल्लाका रूखमा सारसहरूले गुँड बनाई बस्छन्। अग्ला पहाडहरूमा जङ्गली बाख्राहरू बस्छन् र न्याउरी मुसाहरू चट्टानका चेपमा लुक्दछन्। तपाईंले महिनाहरू छुट्ट्याउन जून बनाउनुभयो, घामले आफ्नो अस्ताउने समय जान्दछ। तपाईंले रात बनाउनुभयो र अँध्यारोमा सबै जङ्गली पशुहरू बाहिर निस्कन्छन्। परमेश्वरले दिनुभएको आहार खोज्दै शिकार गर्दा सिंहहरू गर्जन्छन्। घाम उदाउँदा तिनीहरू फर्की जान्छन् र आफ्ना गुफामा सुत्छन्। तब मानिसहरू आफ्ना काम गर्न निस्कन्छन् र साँझसम्म काम गरिरहन्छन्। परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्टिले यो पृथ्वी भरिएको छ। ठूला-साना, अनगन्ती जीवजन्तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्। त्यसमा जहाजहरू चल्दछन् र तपाईंले बनाउनुभएको जल-जन्तु लिव्यातन् त्यहाँ खेल्दछ। आफूलाई चाहेका बेलामा आहार पाउन तिनीहरू सबै तपाईंमा भर पर्दछन्। तपाईंले आहार दिनुहुन्छ र तिनीहरूले खान्छन्, तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्। जब तपाईंले आफ्नो मुहार फर्काउनुहुन्छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्नुहुन्छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्यहीँ फर्किजान्छन्। तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्छ, तिनीहरूको सृष्टि हुन्छ, तपाईं पृथ्वीलाई नयाँ जीवन दिनुहुन्छ। परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्ना सृष्टिसँग प्रसन्न रहून्! उहाँले पृथ्वीलाई हेर्नुहुन्छ र त्यो काँप्दछ, उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनले धुवाँ निकाल्दछन्। म जीवनभरि परमप्रभुको निम्ति भजन गाउनेछु; म जतिञ्जेल बाँचूला, म मेरा परमेश्वरको प्रशंसा गाउनेछु। उहाँ मेरा भजनसँग प्रसन्न होऊन् किनभने मेरो आनन्द उहाँबाट आउँदछ। पापीहरू पृथ्वीबाट नाश होऊन्; दुष्टहरूको नाम-निशाना मेटिओस्। परमप्रभुको प्रशंसा गर्, हे मेरो प्राण!