YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 104:1-35

भजनसंग्रह 104:1-35 सरल नेपाली

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌! हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईं कति महान् हुनुहुन्‍छ! तपाईंले महिमा र गौरव पहिरनुभएको छ। तपाईं ज्‍योतिले ढाकिनुभएको छ, तपाईंले पाल टाँगेजस्‍तै आकाश फैलाउनुभएको छ र आकाशमा पानीमाथि आफ्‍नो भवन बनाउनुभयो। तपाईं बादलका रथमा र बतासका पखेटामा सवार हुनुहुन्‍छ। बतासद्वारा तपाईंले आफ्‍ना समाचार पठाउनुहुन्‍छ र चम्‍केको बिजुलीद्वारा आफ्‍ना काम गराउनुहुँदछ। तपाईंले पृथ्‍वीलाई दरिलो गरेर त्‍यसका जगमा बसाल्‍नुभएको छ र त्‍यो कहिल्‍यै हल्‍लनेछैन। त्‍यसलाई महासागरले खास्‍टोले झैँ ढाक्‍नुभएको छ र पर्वतहरूलाई पानीले छोप्‍नुभएको छ। तपाईंले पानीलाई हकार्नुहुँदा ती भागे, तपाईंको आज्ञाको स्‍वर सुनेर ती हतारसाथ हटिगए। तपाईंले तयार पार्नुभएको ठाउँमा पहाडदेखि बेसीहरूमा ती बहिगए। तिनीहरूले नाघ्‍न नसक्‍ने गरी सिमाना तपाईंले लाइदिनुभयो र त्‍यसले तिनीहरूलाई फेरि पृथ्‍वीलाई ढाक्‍नदेखि रोक्‍दछ। तपाईंले बेसीमा खोला-नालालाई बग्‍न लाउनुहुन्‍छ र पहाडहरूका बीचमा नदीहरू बग्‍छन्। तिनीहरूले जङ्गली पशुहरूलाई पिउने पानी दिन्‍छन् र जङ्गली गधाहरूले त्‍यहाँ तिर्खा मेटाउदँछन्। चराहरूले छेउका रूखहरूमा गुँड बनाउँछन् र गाउँछन्, तपाईंले वर्षा आकाशबाट पहाडहरूमा पठाउनुहुन्‍छ र तपाईंको आशिष्‌ले पृथ्‍वी भरिएको छ। तपाईंले गाई-वस्‍तुको लागि घाँस-पात र मानिसको लागि बनस्पति उमार्नुहुन्‍छ र मानिसले अन्‍नबालीको उब्‍जनी गर्न सक्‍छन्। मानिस प्रसन्‍न हुनलाई मद्य, हँसिलो मुख हुनलाई भद्राक्षको तेल र बल पाउनलाई रोटी उहाँले दिनुहुन्‍छ। परमप्रभुले रोप्‍नुभएका रूखहरू लेबनानका देवदारुहरूले प्रशस्‍त वर्षा पाउँछन्। चराहरूले त्‍यहाँ आफ्‍ना गुँड बनाउँछन् र सल्‍लाका रूखमा सारसहरूले गुँड बनाई बस्‍छन्। अग्‍ला पहाडहरूमा जङ्गली बाख्राहरू बस्‍छन् र न्‍याउरी मुसाहरू चट्टानका चेपमा लुक्‍दछन्। तपाईंले महिनाहरू छुट्ट्याउन जून बनाउनुभयो, घामले आफ्‍नो अस्‍ताउने समय जान्‍दछ। तपाईंले रात बनाउनुभयो र अँध्‍यारोमा सबै जङ्गली पशुहरू बाहिर निस्‍कन्‍छन्। परमेश्‍वरले दिनुभएको आहार खोज्‍दै शिकार गर्दा सिंहहरू गर्जन्‍छन्। घाम उदाउँदा तिनीहरू फर्की जान्‍छन् र आफ्‍ना गुफामा सुत्‍छन्। तब मानिसहरू आफ्‍ना काम गर्न निस्‍कन्‍छन् र साँझसम्‍म काम गरिरहन्‍छन्। परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्‍तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्‍टिले यो पृथ्‍वी भरिएको छ। ठूला-साना, अनगन्‍ती जीवजन्‍तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्। त्‍यसमा जहाजहरू चल्‍दछन् र तपाईंले बनाउनुभएको जल-जन्‍तु लिव्‍यातन् त्‍यहाँ खेल्‍दछ। आफूलाई चाहेका बेलामा आहार पाउन तिनीहरू सबै तपाईंमा भर पर्दछन्। तपाईंले आहार दिनुहुन्‍छ र तिनीहरूले खान्‍छन्, तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्। जब तपाईंले आफ्‍नो मुहार फर्काउनुहुन्‍छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्‍नुहुन्‍छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्‍यहीँ फर्किजान्‍छन्। तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्‍छ, तिनीहरूको सृष्‍टि हुन्‍छ, तपाईं पृथ्‍वीलाई नयाँ जीवन दिनुहुन्‍छ। परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्‍ना सृष्‍टिसँग प्रसन्‍न रहून्! उहाँले पृथ्‍वीलाई हेर्नुहुन्‍छ र त्‍यो काँप्‍दछ, उहाँले पहाडहरूलाई छुनुहुन्‍छ र तिनले धुवाँ निकाल्‍दछन्। म जीवनभरि परमप्रभुको निम्‍ति भजन गाउनेछु; म जतिञ्‍जेल बाँचूला, म मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु। उहाँ मेरा भजनसँग प्रसन्‍न होऊन् किनभने मेरो आनन्‍द उहाँबाट आउँदछ। पापीहरू पृथ्‍वीबाट नाश होऊन्; दुष्‍टहरूको नाम-निशाना मेटिओस्। परमप्रभुको प्रशंसा गर्‌, हे मेरो प्राण!

भजनसंग्रह 104 पढ्नुहोस्