YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:21-35

हितोपदेश 3:21-35 पवित्र बाइबल (NERV)

हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ। ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न। जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल। तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्। कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने। उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ। दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ। यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ। ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:21-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे, ती तेरो निम्‍ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌। तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन। जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ। दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा, किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ। ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌, जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌। आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ। विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्, र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌। किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ। दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ। अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ। बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:21-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख, ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्। तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन। जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ। तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन। किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ। जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन! आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच। कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन। हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज। किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ। दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ। बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्

हितोपदेश 3:21-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ए मेरो छोरो, तैँले बुद्धि र अन्‍तर्दृष्‍टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्‍यै फुत्‍केर जान नदे। यी कुराले तँलाई जीवन दिनेछन्– एउटा सुखी र आनन्‍दमय जीवन। तँ तेरो बाटोमा कुशलसाथ जान सक्‍नेछस् र कहिल्‍यै ठेस खानेछैनस्। सुत्‍न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्‍त निद्रा लाग्‍नेछ। दुष्‍टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्‍ने विपत्तिहरूको डर तँलाई हुनेछैन। परमप्रभुले तँलाई कुशल राख्‍नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्‍न। तैँले सकेअनुसार जसलाई खाँचो छ, त्‍यसलाई भलाइ गर्‌। तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्‍छस् भने भोलिसम्‍म पर्खन नलगा। आफ्‍नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्‍यो तेरो छेउमा तँमाथि विश्‍वास गरी बास गर्दछ। जसले तेरो कहिल्‍यै हानि गरेको छैन, त्‍योसित बिनाकारण तर्कवितर्क नगर्‌। हिँसालु मानिसको डाह नगर्‌ अथवा तिनीहरूले गरेजस्‍तो गर्ने विचार नले किनभने दुष्‍कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर धर्मीहरूचाहिँ उहाँका विश्‍वास-पात्र हुन्‍छन्। दुष्‍कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्‍छ। उहाँले अहङ्कारी मानिसहरूको वास्‍ता गर्नुहुन्‍न तर नम्रहरूमाथि आफ्‍नो निगाह राख्‍नुहुन्‍छ। बुद्धिमान् मानिसहरूले इज्‍जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्‍नो अपमानमाथि अपमान थप्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 3 पढ्नुहोस्