हितोपदेश 29:15-27
हितोपदेश 29:15-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ। जब दुष्ट फस्टाउन थाल्छ, पाप पनि फस्टिँदैजान्छ। तर धर्मीले तिनीहरूको पतन देख्नेछ। आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ। जहाँ दर्शन-प्रकाश छैन, त्यहाँ मानिसहरू भाँड़िन्छन्। तर त्यो मानिस धन्य हो, जसले व्यवस्था पालन गर्छ। कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्यसले बुझे तापनि जवाफ दिँदैन। हतारिएर बोल्ने मानिस तँ देख्छस्? त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ। मानिसले आफ्नो नोकरलाई बाल्यकालदेखि नै पुलपुल्यायो भने, आखिरमा त्यसले दिक्दारी पार्नेछ। दुष्ट मानिसले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ। मानिसको घमण्डले त्यसलाई नीचो पार्छ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ। चोरको मतियार हुने त्यसको परमशत्रु हुन्छ, त्यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्यसको आँट हुँदैन। मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। धेरैले शासकसँग भेटघाट गर्न खोज्दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्याय मिल्छ। धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्टले ईमानदारलाई घृणा गर्छ।
हितोपदेश 29:15-27 पवित्र बाइबल (NERV)
दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ। खराब मानिसले राष्ट्रलाई शासन गर्छ भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्। तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ। जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ। कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन। नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ। यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैँ दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन। क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ। मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ। चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ। अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ। धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ। धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमान्दार मानिसलाई घृणा गर्छन्।
हितोपदेश 29:15-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुधारको हप्काइ र अनुशासनले केटा-केटीहरूलाई बुद्धि दिन्छ। छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ। दुष्टहरूका हातमा अधिकार पर्दा अपराध बढ्दछ तर धर्मीहरूले एक दिन तिनीहरूको पतन देख्नेछन्। आफ्नो छोरालाई अनुशासनमा राख र त्यसले तिमीलाई शान्ति दिन्छ र तिम्रो मनमा आनन्द ल्याउँछ। परमेश्वरको अगुवाइबिनाको जाति व्यवस्थाबिनाको जाति हो तर परमेश्वरको व्यवस्था पालन गर्ने मानिस सुखी हुन्छ! कुराले मात्र नोकर सुधारिंदैन, त्यसले तिम्रो कुरा त बुझ्छ तर त्यसमा ध्यान दिँदैन। नसोची बोल्नेलाई भन्दा त निकम्मा मूर्खलाई धेरै आशा हुन्छ। नोकरलाई बालककालदेखि नै त्यसले मागेका हरेक थोक दिने गर्यौ भने कुनै दिन त्यसले तिम्रो सबै थोक लिनेछ। छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्याउँदछ र धेरै पाप गर्दछ। अहङ्कारले मानिसलाई पतन गराउँछ तर नम्र मानिसले इज्जत पाउँदछ। चोरको साझेदार हुने आफ्नै ठूलो शत्रु हुन्छ। त्यसले अदालतमा साँचो भन्यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्वरको सराप पाउँदछ। आफूमाथि अरूको कस्तो विचार छ, त्यसमा ध्यान दिइरहनु खतराजनक छ तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। सबैले शासकको निगाह पाउन चाहन्छन् तर परमप्रमुले मात्र न्याय दिलाउनुहुन्छ। धर्मीले दुष्टलाई घृणा गर्दछ। अनि दुष्टले धर्मीलाई घृणा गर्दछ।