हितोपदेश 15:20-33
हितोपदेश 15:20-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ। परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्। उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ। जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ। परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ। परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ। लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ। धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ। परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ। हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ, र शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ। जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ। अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ। परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।
हितोपदेश 15:20-33 पवित्र बाइबल (NERV)
एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ। मूर्खलाई दुष्ट कामले खुशी तुल्याउँछ तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ। चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ। सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो। बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ। अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ। दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ। लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ। एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्। परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ। एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ। जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ। जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ। परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।
हितोपदेश 15:20-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धिमान् छोराले बुबालाई खुसी पार्छ तर मूर्ख छोराले आमालाई तुच्छ ठान्छ। मूर्खहरू आफ्ना मूर्खतामा खुसी रहन्छन् तर बुद्धिमान्ले उचित काम गर्दछ। पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ। ठीक समयमा ठीक शब्द निक्लेको कति आनन्दको कुरा हो! बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन। अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्छ। दुष्ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्छ तर शुद्ध बोलीसित उहाँ प्रसन्न हुनुहुन्छ। बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ। धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ। धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्नुहुन्छ तर दुष्टदेखि उहाँ टाढा रहनुहुन्छ। हँसिलो चेहराले हृदयलाई आनन्दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्फुर्ती दिन्छ। तिम्रो भुल सुधार गरिंदा ध्यान दियौ भने तिमी बुद्धिमान् हौ। शिक्षा नलिनेले आफ्नै खति गर्छ, भुल सुधार ग्रहण गर्ने बुद्धिमान् बन्छ। परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ।