हितोपदेश 15
15
1नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।
2बुद्धिमान् मानिसहरू बोल्दा ज्ञानका कुराहरू निस्कन्छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्दछन्।
3कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्छ, असल र दुष्ट मानिसहरूका काम उहाँले आफ्ना नजरमा राख्नुहुन्छ।
4दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ।
5बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्नु बुद्धिमान् हो।
6धर्मी मानिसहरूले आफ्नो धन साँचेर राख्छन् तर दुष्टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्याउँछ।
7बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन।
8सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्छ तर दुष्टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्छ।
9दुष्टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
10भुल काम गर्यौ भने कठोर सजायँ पाउनेछौ, सुधारको कुरा ग्रहण गरेनौ भने मर्नेछौ।
11मृत्यु-लोकले पनि त्यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्ना सोचविचार लुकाउन सक्छ?
12अहङ्कारी मानिसहरूले भुल सुधार गर्न मन पराउँदैनन्, तिनीहरूले आफूभन्दा बुद्धिमान् मानिसहरूका सर-सल्लाह कहिल्यै मान्दैनन्।
13प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ।
14समझदार मानिसहरू शिक्षा प्राप्त गर्न चाहन्छन् तर मूर्खहरू अज्ञानतासित सन्तुष्ट रहन्छन्।
15गरीबको जीवनमा अटुट सङ्घर्ष हुँदछ तर खुसी मानिसहरूले जीवनमा सधैँ आनन्द गर्दछन्।
16धनी भएर सङ्कष्टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्नु उत्तम हो।
17घृणाले भरिएको ठाउँमा स्वादिष्ट मासु खानुभन्दा आफूले प्रेम गरेका मानिसहरूसित साग-सब्जी खानु उत्तम हो।
18तातो रिसले विवाद ल्याउँदछ तर धैर्यले मिलाप गराउँदछ।
19अल्छीको बाटोमा काँढै-काँढा हुन्छ तर इमानदारको मार्ग मूल-बाटो हो।
20बुद्धिमान् छोराले बुबालाई खुसी पार्छ तर मूर्ख छोराले आमालाई तुच्छ ठान्छ।
21मूर्खहरू आफ्ना मूर्खतामा खुसी रहन्छन् तर बुद्धिमान्ले उचित काम गर्दछ।
22पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ। 23ठीक समयमा ठीक शब्द निक्लेको कति आनन्दको कुरा हो!
24बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन।
25अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्छ।
26दुष्ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्छ तर शुद्ध बोलीसित उहाँ प्रसन्न हुनुहुन्छ।
27बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ।
28धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ।
29धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्नुहुन्छ तर दुष्टदेखि उहाँ टाढा रहनुहुन्छ।
30हँसिलो चेहराले हृदयलाई आनन्दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्फुर्ती दिन्छ।
31तिम्रो भुल सुधार गरिंदा ध्यान दियौ भने तिमी बुद्धिमान् हौ।
32शिक्षा नलिनेले आफ्नै खति गर्छ, भुल सुधार ग्रहण गर्ने बुद्धिमान् बन्छ।
33परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.