YouVersion लोगो
खोज आइकन

फिलिप्पी 3:4-21

फिलिप्पी 3:4-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्‍ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्‍ने कारण छ भन्‍ठान्‍छ भने, मेरो त झन्‌ बढ़ी कारण छ। आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्‍यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्‍यवस्‍थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्‍डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्‍यवस्‍थामा भएको धार्मिकताबमोजिम निष्‍खोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें। साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु, र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्‍थानको शक्ति जान्‍न सकूँ, र उहाँको मृत्‍युमा उहाँजस्‍तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्‍भव भए मरेकाहरूबाट म पुनरुत्‍थान प्राप्‍त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु। हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्‍त गरिसकेका छौं, त्‍यसमा दह्रिला भइबसौं। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर। मैले धेरै पल्‍ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्‍दछु कि तिनीहरू ख्रीष्‍टका क्रूसका शत्रुहरूजस्‍तै जीवन बिताउँछन्‌। विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ। तर हाम्रो नागरिकता स्‍वर्गमा छ। त्‍यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात्‌ प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा हामी गर्दछौं। उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्‍याउन सक्‍नुहुन्‍छ, हाम्रा हीन शरीरलाई आफ्‍नै महिमाको शरीरजस्‍तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:4-21 नेपाली समकालीन संस्करण (NCV)

यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: आठौं दिनमा खतना भएको, इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी हुँ; जोशको विषयमा हो भने मण्डलीलाई सताउने; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित थिएँ। तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु, त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। म ख्रीष्‍टलाई जान्‍न चाहन्छु, अनि उहाँको पुनर्जीवनको शक्‍तिलाई, उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु, अनि जसरी भए पनि मरेकाहरूबाट पुनर्जीवित हुन सकूँ। मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ, तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरूहो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: बितेका कुरालाई बिर्सेर, अगाडिका कुरातिर अघि बढ्ने प्रयत्‍न गर्दैछु, म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ। यसकारण हामी सबै जतिजना परिपक्व छौं, यस्तै कुराहरूको विचार गरौं; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। हामीले जे-जति प्राप्‍त गरिसकेका छौं, हामी त्यसैमा जिऔं। दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। किनकि मैले तिमीहरूलाई पहिले घरी-घरी भनेझैं, अहिले फेरि पनि आँसुको साथ भन्दछु, कि धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जिउँछन्। तिनीहरूका अन्त्य विनाश हो, तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूका गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूका मन सांसारिक कुराहरूमा लागेको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, अनि हामीले स्वर्गबाट आउनुहुने मुक्‍तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौं। उहाँले जुन शक्‍तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्‍तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि तिनीहरूका शरीर उहाँको जस्तै महिमित शरीर हुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:4-21 पवित्र बाइबल (NERV)

म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु। म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे। एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो। दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु। हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:4-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बाहिरी कुरामा भरोसा राख्‍ने भए म सबैभन्दा बढी भरोसा राख्‍न सक्‍नेथिएँ किनभने मलाई त जन्‍मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्‍मले नै भन्‍ने हो भने म बेन्‍यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्‍नेहरूमा म फरिसी थिएँ। जोशिलो भएर मैले ख्रीष्‍टका मण्‍डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुनेभए म ठीक थिएँ। तर त्‍यस बेला मैले आफ्‍नो निम्‍ति लाभदायक सम्‍झेका सबै कुरा अब ख्रीष्‍टको निम्‍ति त व्‍यर्थै ठान्‍छु। यति मात्र होइन, येशू ख्रीष्‍ट मेरा प्रभु हुन् भन्‍ने अति बहुमूल्‍य ज्ञान पाएर अरू सब कुरा व्‍यर्थको ठान्‍छु। उहाँकै निम्‍ति मैले सबै कुरा त्‍यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्‍झेको छु र उहाँमा नै लीन हुन चाहन्‍छु। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक ठहरिने मेरो आफ्‍नै धार्मिकता छैन। तर अब त परमेश्‍वरले नै मलाई ख्रीष्‍टमा विश्‍वास गरेकोले ठीक ठहराउनुहुन्‍छ। यो धार्मिकता विश्‍वासमा अडेको छ। मचाहिँ ख्रीष्‍टलाई जान्‍न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्‍युसम्‍मै उहाँजस्‍तै हुन चाहन्‍छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्‍वर्गको इनाम जित्‍ने विचारले निशानातिर दगुर्दै छु। परमेश्‍वरले यसको लागि ख्रीष्‍ट येशूद्वारा अनन्‍तको जीवनमा मलाई बोलाउनुभएको हो। हामी आत्‍मामा पूरा बढेकाहरू जतिले यस्‍तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्‍लै विचार छ भने परमेश्‍वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ। जे भए पनि हामी यहाँसम्‍म जसरी आइपुग्‍यौं र त्‍यसरी नै अगाडि पनि बढ्दै जाऔं। ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्‍तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्‍नेहरूलाई नै तिमीहरूले पछ्याओ। मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्‍दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रु नै भएर हिंड्दछन्। तिनीहरूको अन्‍त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्‍नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्‍ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्‍दछ। हामीहरू त स्‍वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्‍ट स्‍वर्गबाट आउनुहुन्‍छ भनेर हामीले बाटो हेरिरहेका छौं। उहाँले सबै चीजहरू आफ्‍नै अधीनमा पारिसक्‍नुहुन्‍छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्‍तै नमर्ने र चम्‍किलो शरीर बनाउनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्