नहेम्याह 10:1-39
नहेम्याह 10:1-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सहीछाप लाउनेहरूमध्ये यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह, सरायाह, अजर्याह, यर्मिया, पशहूर, अमर्याह, मल्कियाह, हत्तूश, शबन्याह, मल्लूक, हारीम, मरेमोत, ओबदिया, दानिएल, गिन्नतोन, बारूक, मशुल्लाम, अबिया, मियामीन, माज्याह, बिल्गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए। लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल, र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान, मीयका, रहोब, हशब्याह, जक्कूर, शरेबियाह, शबन्याह, होदियाह, बानी, र बनीनू। मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी बुन्नी, अज्गाद, बेबै, अदोनियाह, बिग्वै, आदीन, आतेर, हिजकिया, अज्जूर, होदियाह, हाशूम, बेजै, हारीप, अनातोत, नेबै, मग्पीआस, मशुल्लाम, हेजीर, मशेजेबेल, सादोक, यदूअ, पलत्याह, हानान, अनायाह, होशिया, हनन्याह, हश्शूब, हल्लोहेश, पिल्हा, शोबक, रेहूम, हशब्ना, मासेयाह, अहिया, हानान, आनान, मल्लूक, हारीम र बानाह। “बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, र परमेश्वरका व्यवस्थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्ना पत्नीहरू र छोराछोरीहरूसाथ जो बुझ्न सक्तछन्— तिनीहरू सबैले आफ्ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था मान्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्धन राखी शपथ खाए। “हामी आफ्ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्ति उनीहरूका छोरीहरू ल्याउनेछैनौं। “यदि शबाथमा यी मानिसहरूले व्यापारका माल वा अन्न बेच्न ल्याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्नेछैनौं। प्रत्येक सातौँ वर्ष हामी खेतबारीमा उब्जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं। “हाम्रा परमेश्वरको भवनका सेवाको निम्ति, अर्थात् टेबिलमा राखिने रोटीको निम्ति, नियमित अन्नबलि र होमबलिका निम्ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्ति हामी वर्षैपिच्छे शेकेलको एक तिहाइ दिन आफ्नो दायित्व स्वीकार गर्छौं। “हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदीमा जलाउन वर्षैपिच्छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्वरको भवनमा दाउरा ल्याउनका निम्ति चिट्ठा हालेका छौं। “परमप्रभु परमेश्वरको भवनमा वर्षैपिच्छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्याउने जिम्मेवारी हामीले लिएका छौं। “हाम्रा परमेश्वरको भवनमा, त्यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्यवस्थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्याउन हामी प्रतिज्ञा गर्छौं। “तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्डारमा ल्याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्। दशौँ अंश उठाउँदा हारूनको वंशका एक जना पूजाहारी लेवीहरूका साथमा हुनेछन्। अनि लेवीहरूले दशांशको दशौँ भाग परमेश्वरका भवनको भण्डारका कोठाहरूमा ल्याउनेछन्। इस्राएलीहरूले, लेवीहरूले समेत अन्न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्थानका भाँड़ाहरू राख्ने कोठाहरूमा र त्यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्ने ठाउँमा ल्याउनेछन्। हामी परमेश्वरका भवनको अवहेलना गर्नेछैनौं।”
नहेम्याह 10:1-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
करार-पत्रमा सहीछाप लगाउनेहरूको नाम यस प्रकार थियो: हकल्याहका छोरा राज्यपाल नहेम्याह। सिदकियाह, सरायाह, अजर्याह, यर्मिया, पशहूर, अमर्याह, मल्कियाह, हत्तूश, शबन्याह, मल्लूक, हारीम, मरेमोत, ओबदियाह, दानिएल, गिन्नतोन, बारूक, मशुल्लाम, अबीयाह, मिय्यामीन, माज्याह, बिल्गै र शमायाह। यी सबै पुजारी थिए। लेवीहरूमा: अजन्याहका छोरा येशूआ, हेनादादका परिवारका बिन्नूई, कदमिएल, तिनीहरूका सहकर्मीहरू: शबन्याह, होदिय्याह, कलीता, पलायाह, हानान, मीका, रहोब, हशब्याह, जक्कूर, शेरेबियाह, शबन्याह, होदिय्याह, बानी र बनीनू। मानिसका अगुवाहरू यिनै थिए: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, बुन्नी, अज्गाद, बेबै, अदोनियाह, बिग्वै, आदीन, आतेर, हिजकिया, अज्जूर, होदिय्याह, हाशूम, बेजै, हारीप, अनातोत, नेबै, मग्पीआश, मशुल्लाम, हेजीर, मशेजबेल, सादोक, यद्दूआ, पलत्याह, हानान, अनायाह, होशे, हनन्याह, हश्शूब, हल्लोहेश, पिल्हा, शोबेक, रेहूम, हशब्ना, मासेयाह, अहीयाह, हानान, आनान, मल्लूक, हारीम र बानाह। “बाँकी रहेका मानिसहरू—पुजारीहरू, लेवीहरू, द्वारपालहरू, सङ्गीतकारहरू, मन्दिरका कर्मचारीहरू परमेश्वरको व्यवस्थाका निम्ति तिनीहरूका पत्नीहरू र बुझ्न सक्ने सबै छोराछोरीहरूसँग छिमेकी र अरू जातिहरूबाट आफूलाई अलग राखे। अब परमेश्वरका सेवक मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था पालन गर्न र याहवेह हाम्रा परमेश्वरका सबै आज्ञाहरू, नियमहरू र आदेशहरू होसियारीसाथ पालन गर्नलाई आफ्ना अगुवा इस्राएली दाजुभाइहरूसित मिले। अनि तिनीहरूले आफूलाई श्राप-दण्डको भागीदार र व्यवस्था पालन गर्नलाई शपथ खाए। “हामी आफ्ना छोरीहरूलाई हाम्रा चारैतिर भएका विदेशी मानिसहरूसँग विवाह गर्न दिनेछैनौँ, र तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका निम्ति लिनेछैनौँ भनी हामी प्रतिज्ञा गर्छौँ। “जब छिमेकी मानिसहरूले व्यापारका मालसामानहरू अथवा अन्न शब्बाथमा बेच्न ल्याउँछन्, तब हामी तिनीहरूबाट शब्बाथ अथवा अरू कुनै पवित्र दिनमा किनमेल गर्नेछैनौँ। प्रत्येक सातौँ वर्षमा हामी जमिन खनजोत गर्नेछैनौँ र सबै ऋणहरू माफी गरिदिनेछौँ। “प्रत्येक वर्ष हाम्रा परमेश्वरको भवनको कामको लागि एक तिहाइ शेकेल चाँदी दिनुपर्ने आज्ञालाई मान्नुपर्ने उत्तरदायित्व पालन गर्नेछौँ: टेबुलमा राखिने रोटीको निम्ति; नियमित अन्नबलि र होमबलिको निम्ति; शब्बाथहरूमा भेटीको निम्ति, औँसीका चाडहरूमा र तोकिएका चाडहरूका निम्ति; पवित्र भेटीहरूको निम्ति; इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलिको निम्ति; अनि हाम्रा परमेश्वरको भवनका सबै सेवाहरूका निम्ति उत्तरदायित्व पालन गर्नेछौँ। “हामी पुजारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार, तोकिएका समयहरूमा प्रतिवर्ष हाम्रो प्रत्येक परिवारले याहवेह हाम्रा परमेश्वरको वेदीमा जलाउने काठ कहिले ल्याउनुपर्ने भनी जान्नलाई चिट्ठा हालेका छौँ। “हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ। “व्यवस्थामा लेखिएअनुसार, हाम्रा छोराहरूबाट, हाम्रा गाईबस्तुहरूबाट, हाम्रा बथानबाट र हाम्रा बगालबाट पहिले जन्मिएका जेठाहरूलाई पनि हामी परमेश्वरको भवनमा सेवा गरिरहेका पुजारीहरूकहाँ ल्याउनेछौँ।” यसबाहेक हामी हाम्रा परमेश्वरको भवनको भण्डारमा पुजारीहरूकहाँ आफ्नो जमिनको पहिलो अन्न तयार गरी मुछेको पिठो, हाम्रा अन्नबलि, हाम्रा सबै रूखका पहिलो फलहरू र हाम्रा नयाँ दाखमद्य र नयाँ जैतुन तेलको पहिलो भाग ल्याउनेछौँ। अनि हामीले काम गर्ने सबै सहरहरूमा लेवीहरूले नै दशांश बटुल्ने हुनाले हामी आफ्नो जमिनको दशांश लेवीहरूकहाँ ल्याउनेछौँ। लेवीहरूले दशांश लिँदा तिनीहरूसित हारूनवंशी एक जना पुजारी हुनुपर्छ, र लेवीहरूले दशांशको दशौँ भाग हाम्रा परमेश्वरको भवनको भण्डारमा ल्याउनुपर्नेछ। इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्। “हामी हाम्रा परमेश्वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”
नहेम्याह 10:1-39 पवित्र बाइबल (NERV)
अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए: लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह, सारयाह, अजर्याह, यिर्मयाह, पशहूर, अमयाह, मल्कियाह, हत्तूश, शबन्याह, भल्लूह, हारीम, मरेमोत, ओबदियाह। दानियल, गिन्नतोन, बारूक, मशुल्लाम, अजर्याह मियामीन, माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ। यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः अजन्याहका छोरा येशूअ, हेनाददको छोरा-छोरीहरू बिन्नूइ, कदमीएल, अनि तिनीहरूका सँगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान, मीका, रहोब, हशब्याह, जक्कूर, शेरेब्याह, शबन्याह, होदियाह, बानी अनि बनीनू। यी मानिसहरूका अगुवाहरू हुन् जसले सन्धी हस्ताक्षर गरेः परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, बन्नी, अज्गाद, बवै, अदोनियाह, बिग्बै, आदीन, आतेर, हिज्कियाह, अज्जूर, होदियाह, हाशूम, बेसै, हारीत, अनातोत, नोबै, मग्पीआश, मशुल्लाम, हेजीर, मशेजबेल, सादोक, यद्दु, पलत्याह, हानान, अनायाह, होशे, हनन्याह, हश्शूब, हल्लोहेश, पिल्हा, शेबेक, रहूम, हशब्ना, मासेयाह, अहियाह, हानान, आनान। मल्लूक, हारीम, अनि बाना। बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा-छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त, तिनीहरूका अगुवाहरूसँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए। “हामी वचन दिन्छौं कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं। “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं बर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं। “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति बर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं। त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ। “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक बर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए। “हामीहरूले पनि प्रत्येक बर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ। “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेंडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं। “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन् जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौं खण्ड सँग्रह गर्छन्। अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश सँग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्। किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वाररक्षकहरू अनि गवैयाहरू छन्। “हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”
नहेम्याह 10:1-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
करार-पत्रमा सबैभन्दा पहिले हकल्याहको छोरा नहेम्याह बडा-हाकिमले सही गरे। त्यसपछि सिदकियाहले सही गरे। तीपछि यिनीहरूले सही गरे: पूजाहारीहरू: सरायाह, अजर्याह, यर्मिया, पशहूर, अमर्याह, मल्कियाह, हत्तूश, शबन्याह, मल्लूक, हारीम, मरेमोत, ओबदिया, दानिएल, गिन्नतोन, बारूक, मशुल्लाम, अबिया, मियामीन, माज्याह, बिल्गै र शमायाह। लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका वंशका बिन्नूई, कादमीएल, शबन्याह, होदियाह, कलीता, पलयाह, हानान, मीयका, रहोब, हशब्याह, जक्कूर, शरेबियाह, शबन्याह, होदियाह, बानी र बनीनू। इस्राएलीहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, बुन्नी, अज्गाद, बेबै, अदोनियाह, बिग्वै, आदीन, आतेर, हिजकिया, अज्जूर, होदियाह, हाशूम, बेजै, हारीप, अनातोत, नेबै, मग्पीआस, मशुल्लाम, हेजीर, मशेजेबेल, सादोक, यदूअ, पलत्याह, हानान, अनायाह, होशिया, हनन्याह, हश्शूब, हल्लोहेश, पिल्हा, शोबक, रेहूम, हशब्ना, मासेयाह, अहिया, हानान, आनान, मल्लूक, हारीम र बानाह। हामी इस्राएलका पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, कारिन्दाहरू र अरू इस्राएलीहरूले परमेश्वरका व्यवस्था पालन गरेर आफैंलाई देशभित्रका विदेशी मानिसहरूदेखि अलग गरेका छौं र आफ्ना स्वास्नी र बुझ्न सक्ने उमेर भएका केटा-केटीहरूसमेत हाम्रा मुखियाहरूसँग एक भएर यो शपथ खाएका छौं कि हामी परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्था-विधिअनुसार आफ्ना जीवन बिताउनेछौं। यो वाचा भङ्ग गरेमा हामी परमेश्वरको सराप-दण्डको भागिदार बन्नेछौं। परमेश्वर परमप्रभुले दिनुभएको आज्ञा पालन गर्नेछौं र उहाँका सबै व्यवस्था र आदेशहरू पालन गर्नेछौं। हाम्रा देशमा बास गर्ने विदेशी मानिसहरूसँग हामी अन्तरजातीय बिहावारी गर्नेछैनौं। ती विदेशीहरूले विश्रामका दिन वा अरू पवित्र दिनमा बेच्नलाई ल्याएका अन्न वा अरू वस्तुहरू हामी किन्नेछैनौं। हरेक सातौँ वर्ष हामी जमिनमा अन्न लाउनेछैनौं र सबै ऋण छोडिदिनेछौं। वर्षेनी मन्दिरको खर्च चलाउन हामी प्रत्येकले करिब ५ ग्राम चाँदी दिनेछौं। मन्दिरको सेवाको निम्ति पवित्र रोटी, दैनिक अन्नबलि, होमबलिको लागि पशुहरू, विश्रामको दिन, औंसी र अरू चाड-पर्वमा चाहिने भेटीहरू, इस्राएलको प्रायश्चितका निम्ति पापबलि र अरू मन्दिरलाई चाहिने पदार्थहरू हामी दिनेछौं। व्यवस्थामा लेखेअनुसार बलि चढाउँदा चाहिने दाउरा इस्राएलका वंशले पालैपालो गरेर वर्षेनी दिनेछन्। पूजाहारी, लेवी र मानिसहरू सबै मिली, चिट्ठा हालेर, कुन वंशले दाउरा दिने हो, त्यो हामी वर्षेनी खटाउनेछौं। वर्षेनी आफ्ना जमिनमा बटुलेका पहिला अन्न र रूखमा फलेका अगौटे फलहरू मन्दिरमा परमेश्वरलाई चढाउनेछौं। हाम्रा परिवारमा जन्मेका जेठा छोरा व्यवस्थाअनुसार मन्दिरमा पूजाहारीकहाँ लगेर परमेश्वरलाई अर्पण गर्नेछौं। त्यसरी नै गाई-वस्तुका पहिला बाछो र भेडा-बाख्राका पहिला पाठा हामी अर्पण गर्नेछौं। वर्षेनी आफ्नो जमिनको पहिलो अन्नदेखि तयार गरेर मुछेको पिठो र हामीले चढाउनुपर्ने भद्राक्षको तेल, दाखमद्य र सबै प्रकारका फलहरू मन्दिरमा पूजाहारीकहाँ टक्र्याउनेछौं। गाउँमा दशौँ हिस्सा उठाउन खटिएका लेवीहरूलाई हामी आफ्ना जमिनका उब्जनीको दशौँ भाग दिनेछौं। दशौँ हिस्सा उठाएको बेलामा हारून वंशका पूजाहारीहरू लेवीहरूसँग रहनेछन् र यसरी सङ्ग्रह गरेका दशौँ हिस्साको भागबाट अर्को दशौँ भाग निकाली ती लेवीहरूले मन्दिरमा चलाउनका लागि मन्दिरको ढुकुटीमा जम्मा गर्नेछन्। भेटीमा सङ्ग्रह भएका अन्न, दाख-मद्य र भद्राक्षको तेल, इस्राएली र लेवीहरूको मन्दिरको ठूल्ठूला कोठामा जम्मा गर्नेछन्, जहाँ मन्दिरका काम गर्ने पूजाहारी, पहरादार र अरू कारिन्दाहरूका बास गर्ने कोठाहरू छन्। हाम्रा परमेश्वरको भवनलाई हामी अवहेलना गर्नेछैनौं।