मर्कूस 6:53-56
मर्कूस 6:53-56 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे। अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।
मर्कूस 6:53-56 नेपाली समकालीन संस्करण (NCV)
उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा उत्रनुभयो, अनि डुङ्गा किनारमा लगाउनुभयो। उहाँहरू डुङ्गाबाट निस्कनसाथ मानिसहरूले येशूलाई चिने। तिनीहरू दगुर्दै सारा प्रदेशबाट रोगीहरूलाई ओछ्यानमा राखेर उहाँ जहाँ हुनुहुन्थ्यो, त्यतै लगेर गए। अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, शहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई विन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
मर्कूस 6:53-56 पवित्र बाइबल (NERV)
येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।
मर्कूस 6:53-56 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो। नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। त्यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्याउन थाले। गाउँ, सहर, बस्ती, जहाँ-जहाँ येशू जानुहुन्थ्यो, त्यहीं-त्यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्थे।