मर्कूस 3:7-19
मर्कूस 3:7-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो। त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी, र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
मर्कूस 3:7-19 नेपाली समकालीन संस्करण (NCV)
येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो; अनि गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो। जब उहाँले जे गरिरहनुभएको तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, अनि टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए। भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनेर उहाँले चेलाहरूलाई उहाँको निम्ति एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको कारण जतिजना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेला गर्दै अघि बढ्दैथिए। अशुद्ध आत्माहरूले उहाँलाई देख्नसाथै तिनीहरू उहाँका अघि पछारिन्थे, अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो। त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए। उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, ताकि तिनीहरू उहाँसित रहून्, र प्रचार गर्न बाहिर पठाउन सकून्, अनि तिनीहरूलाई भूतहरू धपाउने अधिकार पाऊन्। उहाँले नियुक्त गर्नुभएका बाह्रजना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाउँ दिनुभयो), जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्ने नाउँ दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”), अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसको छोरा याकोब, थेदियस, सिमोन कनानी, अनि यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
मर्कूस 3:7-19 पवित्र बाइबल (NERV)
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए। उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो। त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए: सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो), याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”), आन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो), थेदियस, सिमोन कनानी, अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।
मर्कूस 3:7-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू आफ्ना चेलाहरूसित गालील तालको छेउमा जानुभयो। त्यहाँ थुप्रै मानिसहरू उहाँको पछि लागेर आए। येशूले गर्नुभएका अचम्मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए। यो देखेर मानिसको घुइँचोले आफूलाई नमिचोस् भनी येशूले चेलाहरूलाई एउटा नाउ ल्याउन लगाउनुभयो। उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको थियो। त्यसैले बिरामीहरू उहाँलाई छुन तँ छाड र म छाड गरिरहेका थिए। भूत लागेका मानिसहरू जतिले उहाँलाई देख्नेबित्तिकै उहाँका पाउमा परी चिच्च्याउँदै भने, “तपाईं त परमेश्वरका पुत्र हुनुहुन्छ!” तर येशूले “म को हुँ भन्ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो। येशू एउटा डाँडामा उक्लिनुभयो र आफूलाई चाहिए जति चेलाहरूलाई बोलाउनुभयो। तिनीहरू उहाँकहाँ आए। आफूसँगै रहून् अनि मानिसहरूलाई सुसमाचार सुनाउन जाऊन् र भूतहरूलाई निकाल्न सक्ने अधिकार पाऊन् भनेर उहाँले बाह्र जनालाई खटाउनुभयो र प्रेरित भनी नाउँ दिनुभयो। येशूले यिनै बाह्र जनालाई छान्नुभयो– सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्नुभयो। जब्दियाका दुई भाइ छोरा याकूब र यूहन्ना, यिनीहरूको नाउँ उहाँले “बोअनर्गेस” राख्नुभयो, जसको अर्थ गर्जनका सन्तान हो। अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फायसका छोरा याकूब, थेदियस र देशभक्त दलको सिमोन र येशूलाई पक्राइदिने यहूदा इस्करियोत।