YouVersion लोगो
खोज आइकन

मर्कूस 3:7-19

मर्कूस 3:7-19 सरल नेपाली

येशू आफ्‍ना चेलाहरूसित गालील तालको छेउमा जानुभयो। त्‍यहाँ थुप्रै मानिसहरू उहाँको पछि लागेर आए। येशूले गर्नुभएका अचम्‍मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए। यो देखेर मानिसको घुइँचोले आफूलाई नमिचोस् भनी येशूले चेलाहरूलाई एउटा नाउ ल्‍याउन लगाउनुभयो। उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको थियो। त्‍यसैले बिरामीहरू उहाँलाई छुन तँ छाड र म छाड गरिरहेका थिए। भूत लागेका मानिसहरू जतिले उहाँलाई देख्‍नेबित्तिकै उहाँका पाउमा परी चिच्‍च्‍याउँदै भने, “तपाईं त परमेश्‍वरका पुत्र हुनुहुन्‍छ!” तर येशूले “म को हुँ भन्‍ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो। येशू एउटा डाँडामा उक्‍लिनुभयो र आफूलाई चाहिए जति चेलाहरूलाई बोलाउनुभयो। तिनीहरू उहाँकहाँ आए। आफूसँगै रहून् अनि मानिसहरूलाई सुसमाचार सुनाउन जाऊन् र भूतहरूलाई निकाल्‍न सक्‍ने अधिकार पाऊन् भनेर उहाँले बाह्र जनालाई खटाउनुभयो र प्रेरित भनी नाउँ दिनुभयो। येशूले यिनै बाह्र जनालाई छान्‍नुभयो– सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्‍नुभयो। जब्‍दियाका दुई भाइ छोरा याकूब र यूहन्‍ना, यिनीहरूको नाउँ उहाँले “बोअनर्गेस” राख्‍नुभयो, जसको अर्थ गर्जनका सन्‍तान हो। अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फायसका छोरा याकूब, थेदियस र देशभक्त दलको सिमोन र येशूलाई पक्राइदिने यहूदा इस्‍करियोत।

मर्कूस 3 पढ्नुहोस्