मर्कूस 16:11-20
मर्कूस 16:11-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्। त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो। अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्। पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेका थिएनन्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]
मर्कूस 16:11-20 नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूले येशू जिउँदो हुनुभएको अनि त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तिनीहरूले त्यो विश्वासै गरेनन्। यसपछि गाउँतिर जाँदै गरेका दुईजनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। यिनीहरू फर्केर त्यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्वास गरेनन्। त्यसपछि येशू एघारजनाले खाइरहेको बेला त्यहाँ देखा पर्नुभयो, उहाँले तिनीहरूका अविश्वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूमाथि पनि विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै सृष्टिलाई यो सुसमाचार सुनाओ। जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, त्यो बचाइनेछ, तर विश्वास नगर्ने दण्डित हुनेछ। अनि विश्वास गर्नेहरूसित यी चिन्हहरू हुनेछन्: मेरो नाउँमा उनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, अनि तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, अनि तिनीहरू निको हुनेछन्।” प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि, उहाँ माथि स्वर्गमा लगिनुभयो अनि परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे, अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।
मर्कूस 16:11-20 पवित्र बाइबल (NERV)
मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्। त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन। ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्। त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो। येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर। जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ। अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्। तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।” यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो। चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।
मर्कूस 16:11-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्याएनन्। त्यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै किसिमसँग देखा पर्नुभयो। तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्याएनन्। त्यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्नेहरूका कुरा विश्वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्काउनुभयो। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ! विश्वास गरेर बप्तिस्मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्वास नगर्नेहरूचाहिँ परमेश्वरको सामुन्ने दोषी ठहरिनेछन्। अनि विश्वास गर्नेहरूसँग यस्ता चिन्हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्नेछन्। उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।” चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्वर्गमा उचालिनुभयो र उहाँ परमेश्वरको दाहिनेपट्टि बस्नुभयो। त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो।