मर्कूस 16
16
येशू पुनर्जीवित हुनुभएको
1विश्रामदिन सकिएपछि, येशूको शरीरमा घस्न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम, अनि सलोमीले सुगन्धित मसलाहरू किने। 2हप्ताको पहिलो दिन एकाबिहानै, सूर्योदय हुनासाथ तिनीहरू चिहानतिर लागे, 3अनि तिनीहरूले आपसमा भने, “कसले चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर हटाइदेला?”
4तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। 5जब तिनीहरू चिहानभित्र पसे, सेतो लुगा लगाएको एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्क परे।
6तिनले भने, “छक्क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित हुनुभएको छ! उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँ हेर। 7तर जाओ, उहाँका चेलाहरू अनि पत्रुसलाई यसो भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्नुभएझैं, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
8काँप्दै र अचम्म मान्दै स्त्रीहरू बाहिर निस्के, अनि चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
9जब येशू हप्ताको पहिलो दिनमा बिहानै जीवित भई उठ्नुभयो, उहाँ मरियम मग्दलिनीकहाँ पहिले देखा पर्नुभयो, जसबाट उहाँले सातओटा भूतहरू निकाल्नुभएको थियो। 10ऊ दौडेर गई र उहाँसित हुनेहरूलाई भनिदिई, जो रुँदै र विलाप गर्दैथिए। 11जब तिनीहरूले येशू जिउँदो हुनुभएको अनि त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तिनीहरूले त्यो विश्वासै गरेनन्।
12यसपछि गाउँतिर जाँदै गरेका दुईजनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। 13यिनीहरू फर्केर त्यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्वास गरेनन्।
14त्यसपछि येशू एघारजनाले खाइरहेको बेला त्यहाँ देखा पर्नुभयो, उहाँले तिनीहरूका अविश्वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूमाथि पनि विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
15उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै सृष्टिलाई यो सुसमाचार सुनाओ। 16जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, त्यो बचाइनेछ, तर विश्वास नगर्ने दण्डित हुनेछ। 17अनि विश्वास गर्नेहरूसित यी चिन्हहरू हुनेछन्: मेरो नाउँमा उनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, 18तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, अनि तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, अनि तिनीहरू निको हुनेछन्।”
19प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि, उहाँ माथि स्वर्गमा लगिनुभयो अनि परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। 20तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे, अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।#16:20 9 देखि 20 प्राचीन पा.लि.हरूमा यी पदहरू पाइँदैनन्
अहिले सेलेक्ट गरिएको:
मर्कूस 16: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.