मर्कूस 10:1-31
मर्कूस 10:1-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ? उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?” तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।” घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।” मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्नेछैन।” अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्यो, र उहाँलाई सोध्यो, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” येशूले त्यसलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वरबाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नू, व्यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू।” अनि त्यसले उहाँलाई भन्यो, “गुरुज्यू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।” येशूले त्यसलाई हेर्नुभयो, र त्यसलाई माया गरेर भन्नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ। अनि आएर मेरो पछि लाग।” तर यस कुराले त्यसको अनुहार उदासिलो भयो, र त्यो दुःखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन-सम्पत्ति थियो। अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ।” उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालक हो, धनसम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ।” तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।” पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन। तर धेरै पहिला हुनेहरू पछिल्ला, र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मर्कूस 10:1-31 नेपाली समकालीन संस्करण (NCV)
तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा अनि यर्दनपारि जानुभयो। फेरि मानिसहरूको भीड उहाँकहाँ आए, अनि आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो। केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था दिएको त तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा हो, तर सृष्टिको सुरुमा त परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ, अनि पत्नीसित मिलेर बस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, चेलाहरूले येशूलाई यसबारे फेरि सोधे। उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ। यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह-विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने, त्यसले व्यभिचार गर्दछे।” मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदिऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। जब येशूले यो देख्नुभयो, उहाँ रिसाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, अनि तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूको हो। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैं ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” अनि उहाँले नानीहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखी तिनीहरूलाई आशिष दिनुभयो। येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, एकजना मानिस दगुर्दै आएर उहाँको सामुन्ने घुँडा टेक्यो, अनि सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्वरबाहेक कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, तैंले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” त्यसले घोषणा गर्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।” येशूले त्यसलाई हेरेर प्रेम गरी भन्नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएको सबै कुरा बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा धन प्राप्त हुनेछ। तब आऊ, अनि मलाई पछ्याऊ।” यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो। येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ!” उहाँका वचनहरूमा चेलाहरू छक्क परे, तर येशूले फेरि भन्नुभयो, “हे केटाकेटीहो, परमेश्वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ! कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” चेलाहरू झन् बढी छक्क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसको लागि त यो असम्भव छ, तर परमेश्वरको लागि छैन; परमेश्वरको लागि सबै कुरा सम्भव छ।” पत्रुसले उहाँलाई भन्न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, कि आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्चा अथवा जग्गाजमिन मेरो र सुसमाचारको निम्ति त्याग्नेहरू कसैले पनि सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता: घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्चाहरू अनि जग्गाजमिन र साथै आउने युगमा, अनन्त जीवन पनि प्राप्त गर्नेछ। तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्; अनि धेरै जो पछिल्ला छन्, ती पहिला हुनेछन्।”
मर्कूस 10:1-31 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले त्यो ठाऊँ छाड्नुभयो। उहाँ यहूदियाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो। केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?” येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?” फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।” येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ। तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। अनि तब ती दुइजना एक हुन्छन्। यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।” त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।” मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे। त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्। म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।” त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो। येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ। यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’” त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।” येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।” जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो। त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।” अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।” चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?” येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।” पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।” येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ। अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”
मर्कूस 10:1-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू त्यो ठाउँ छोडेर यहूदिया क्षेत्र र यर्दन नदीको पारिपट्टि जानुभयो। फेरि पनि धेरै मानिसहरूको घुइँचो लाग्यो अनि उहाँले सधैँजस्तै तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?” येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?” तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्। तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो। ‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ। अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्। अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ। त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।” येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हकारे। येशूले यो देखेर आफ्ना चेलाहरूलाई हप्काएर भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो। साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई केटा-केटीहरूले जस्तै गरी नलिएसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैन।” अनि उहाँले ती केटा-केटीहरूलाई आफ्नो काखमा लिनुभयो र एक-एक जनामाथि हात राखेर आशीर्वाद दिनुभयो। येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन। परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।” तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।” येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो। येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।” अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ। तर अहिले पहिला हुनेहरूमध्ये धेरै जना पछि पर्नेछन् र अहिले पछि हुनेहरू धेरै जना पहिला हुनेछन्।”