YouVersion लोगो
खोज आइकन

मर्कूस 10:1-31

मर्कूस 10:1-31 NCV

तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा अनि यर्दनपारि जानुभयो। फेरि मानिसहरूको भीड उहाँकहाँ आए, अनि आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो। केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था दिएको त तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा हो, तर सृष्‍टिको सुरुमा त परमेश्‍वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ, अनि पत्नीसित मिलेर बस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, चेलाहरूले येशूलाई यसबारे फेरि सोधे। उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ। यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह-विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने, त्यसले व्यभिचार गर्दछे।” मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदिऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। जब येशूले यो देख्नुभयो, उहाँ रिसाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, अनि तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो। म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैं ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” अनि उहाँले नानीहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखी तिनीहरूलाई आशिष दिनुभयो। येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, एकजना मानिस दगुर्दै आएर उहाँको सामुन्‍ने घुँडा टेक्यो, अनि सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, तैंले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” त्यसले घोषणा गर्‍यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।” येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएको सबै कुरा बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा धन प्राप्‍त हुनेछ। तब आऊ, अनि मलाई पछ्याऊ।” यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो। येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ!” उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे केटाकेटीहो, परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ! कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसको लागि त यो असम्भव छ, तर परमेश्‍वरको लागि छैन; परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।” पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कि आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरो र सुसमाचारको निम्ति त्याग्नेहरू कसैले पनि सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता: घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू अनि जग्गाजमिन र साथै आउने युगमा, अनन्त जीवन पनि प्राप्‍त गर्नेछ। तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; अनि धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”

मर्कूस 10 पढ्नुहोस्