मर्कूस 1:35-39
मर्कूस 1:35-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ।” अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।
मर्कूस 1:35-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।” यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
मर्कूस 1:35-39 पवित्र बाइबल (NERV)
भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।” येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।
मर्कूस 1:35-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्न गए। उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!” यो सुनेर येशूले भन्नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।” अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्दै गालीलभरि घुम्नुभयो।