मर्कूस 1:32-37
मर्कूस 1:32-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन। बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।”
मर्कूस 1:32-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे। एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”
मर्कूस 1:32-37 पवित्र बाइबल (NERV)
त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो। भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”
मर्कूस 1:32-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्याए र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए। येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्नुभयो। येशू को हुनुहुन्छ भनी ती भूतहरूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई बोल्नै दिनुभएन। भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्न गए। उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!”