YouVersion लोगो
खोज आइकन

मर्कूस 1:14-20

मर्कूस 1:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब यूहन्‍ना पक्राउमा परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।” गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोड़े, र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो। उहाँले तुरुन्‍त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्‍ना पिता जब्‍दियालाई ज्‍यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:14-20 नेपाली समकालीन संस्करण (NCV)

यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर!” जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।” तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे। उहाँ अझ अलि पर पुग्नुहुँदा उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। ढिलाइ नगरी उहाँले तिनीहरूलाई बोलाउनुभयो, अनि तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्‍यालादारहरूको साथमा डुङ्गामा छोडे र उहाँलाई पछ्याए।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:14-20 पवित्र बाइबल (NERV)

त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।” गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए। येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए। तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यूहन्‍ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्‍वरको सुसमाचार सुनाउन लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “अब समय पूरा भएको छ, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ। अब पश्‍चाताप गरेर पाप छोड र सुसमाचारमा विश्‍वास गर।” गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्‍द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे। अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्‍दियाका दुई छोराहरू याकूब र यूहन्‍नालाई देख्‍नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि तुरुन्‍तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्‍ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे।

शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्