YouVersion लोगो
खोज आइकन

मत्ती 5:1-20

मत्ती 5:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो: “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌। “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-20 नेपाली समकालीन संस्करण (NCV)

उहाँले जब भीडलाई देख्नुभयो, उहाँ डाँडामा उक्लनुभयो र बस्‍नुभयो। उहाँका चेलाहरू उहाँकहाँ आए। अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्‍नुभयो: “धन्य आत्मामा दीन हुनेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। धन्य शोक गर्नेहरू, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनकि तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनकि तिनीहरू तृप्‍त हुनेछन्। धन्य दयावान्‌हरू, किनकि तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सतावटमा पर्नेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। “तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ, किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अघिका अगमवक्‍ताहरूलाई यसरी नै तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो ता बाहिर फालिन र मानिसहरूद्वारा कुल्चन बाहेक अरू कुनै काम लाग्दैन। “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको शहर लुक्न सक्दैन। न ता मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्छन्। तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्, अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। “म व्यवस्था र अगमवक्‍ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइन, तर ती पूरा गर्न आएको हुँ। म तिमीहरूलाई यो साँच्‍चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। कसैले यी आज्ञाहरूमध्ये एउटा सबैभन्दा सानोलाई उलङ्घन गर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउँछ भने, ऊ स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ, तर जसले यी आज्ञाहरू पालन गर्छ अनि अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-20 पवित्र बाइबल (NERV)

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए। “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्। “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन। “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्‍नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्‍नुभयो– “आफूलाई आत्‍मामा गरीब ठान्‍नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले पृथ्‍वीमा अधिकार गर्न पाउनेछन्। परमेश्‍वरको हरेक आज्ञा र इच्‍छा पूरा होस् भनेर सम्‍पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्। मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्। परमेश्‍वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। “मलाई विश्‍वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्‍दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्‍य हौ! त्‍यति बेला तिमीहरू खुसी र आनन्‍दित होओ किनभने तिमीहरूको लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्‍यसरी नै दु:ख दिएर सताएका थिए। “तिमीहरू त पृथ्‍वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्‍यो त कामै नलाग्‍ने भई फ्‍याँकिनेछ र मानिसले कुल्‍चनेछन्। “तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ। त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्। “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आकाश र पृथ्‍वी बितेर नगएसम्‍म परमेश्‍वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्‍नेछैन। व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्‍ने र मिच्‍न सिकाउने मानिस परमेश्‍वरको राज्‍यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्‍ने र अरूलाई पनि मान्‍न लगाउनेचाहिँ परमेश्‍वरको राज्‍यमा ठूलो ठहरिनेछ। यसैकारण म तिमीहरूलाई भन्‍छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्