YouVersion लोगो
खोज आइकन

मत्ती 5:1-20

मत्ती 5:1-20 NNRV

भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो: “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌। “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।