मत्ती 26:69-75
मत्ती 26:69-75 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?” तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।” तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी, र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।” तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।” अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।” तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो। तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
मत्ती 26:69-75 नेपाली समकालीन संस्करण (NCV)
अब पत्रुस बाहिरको चोकमा बसिरहेका थिए। अनि एउटी सेविका केटी तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।” तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविका केटीले देखी अनि त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।” तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो भाषा-शैलीले त्यही भन्छ।” तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दिनँ।” तत्कालै भाले बास्यो। तब पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी बाहिर गएर धुरुधुरु रोए।
मत्ती 26:69-75 पवित्र बाइबल (NERV)
त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।” तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?” त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।” पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!” केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।” तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
मत्ती 26:69-75 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेलासम्म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” केही बेरपछि त्यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्छ नि!” अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।